आफैं विरुद्ध….

बसन्त चौधरी /काठमाण्डौ ,शुक्रबार भदौ १३ गते ।
सम्झनाको उर्लदो भेलमा
तिमी बगेर आउँछौ
संगै बसेर पिएको कफी
संगसंगै छुटेका पदचापको
मधुर आवाज
र,
पोखिइरहन्छन्
आँखाका ओठबाट,
उष्ण बोकेका गह्रौं आँसुहरु !

हो,
तिम्रो सम्झनाको
उर्लदो भेलमा
तिमी बनेर छाउँछौ
मृदु स्मृति
र,
डराई भाग्छ निद्रा
तिमी मुस्काएर भर्छौ मन
र,
हराएर जान्छ झझल्को
त्यही भेलमा बग्दा बग्दै
वियोगको ढुङ्गामा ठोक्किएर
पटक पटक रक्ताम्य म
तिमीलाई बोकेका
यी आँखाका डिलबाट
घाइते खसिरहेको छु !

बाँध बाँध्न नसक्दा
सम्झनाको भेल
मेरो संसार तहस नहस छ
असमर्थ र विक्षिप्त म
तिम्रो स्मृतिसंग युद्धरत
शंखघोष गर्ने,
साहस जुटाइरहेकोछु
पटक पटक,
आफैं विरुद्ध युद्धको !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार