भिम माविमा पुस्तकालय भवन निर्माण ,वडा अध्यक्ष बुढाद्धारा उद्घाटन

यामनाथ पौडेल
देविस्थान ,सोमबार भदौ १६ गते ।
म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १९ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो ।

संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन लाख रुपैयाँ बराबरको श्रमदान भएको विद्यालयले जनाएको छ । संस्थाले १ हजार ४ सय थान विभिन्न बिधाका पुस्तकहरु पनि उपलब्ध गराएको छ । यसअघि पुस्तकालय स्थापना भएपनि भवन अभावमा व्यवस्थित हुन सकेको थिएन् ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षा सहित २१५ जना विद्यार्थी छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठ कोठे भवन निर्माण भएको थियो ।

भवनको १२ औ पुस्तकालय दिवसको अवसर पारेर आइतबार वडा अध्यक्ष पिपला बुढाले भवनको उद्घाटन गर्नुभयो । अध्यक्ष बुढाले पुस्तकालयलाई प्रभावकारी र व्यवस्थित गर्न कोषको आवश्यकता औल्याउदै त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष रेखा पुर्जाको अध्यक्षता, शिक्षक यामनाथ पौडेलको स्वागत र शिक्षक नर बहादुर बिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीले पुस्तकालयको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो भने शिक्षक यामप्रसाद तिवारीले पुस्तकालय सञ्चालन र आचार संहिताको बारेमा जानकारी गराउनुभयो ।

प्रअ घर्तीको अध्यक्षतामा ७ सदस्यीय पुस्तकालय व्यवस्थापन समिति गठन भएको छ । कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष निमबहादुर पुनको पनि बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा कक्षा १ देखि ४ सम्म चित्रकला, कक्षा ५ देखि ७ सम्म पुस्तकालय शिर्षकमा अनुच्छेद लेखन र ८ देखि १० का विद्यार्थीहरुबीच पुस्तकालयको महत्व शिर्षकमा निबन्ध लेखन प्रतियोगिता गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार