मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो

बेनी ,विहिबार बैशाख ११ गते ।
कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै म्याग्दीबाट प्रदेश तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संघिय तथा प्रदेश सांसद एवम् नेताहरुकाे पहलप्रति आवश्यक समन्वय नगरेको भन्दै स्थानीय तहका जनप्रतिनिधि संगै जिल्ला स्थित सरोकारवालाहरुले गुनासो गरेका हुन् । स्थानीय तहलाई समन्वय नगरि सहरबाट मान्छे गाउँ पठाउँदा व्यवस्थापन गर्न समस्या हुनेछ ।

बुधबार पदमलाल सापकोटाले सामाजिक संजाल फेसबुकमा सम्पर्क नम्वर राख्दै सांसदहरुको पहलमा म्याग्दीबाट आई काठमाण्डौंमा अस्थायी रुपमा बसोबास गर्ने र लकडाउनका कारण समस्यामा परेका घर जान चाहने विद्यार्थी तथा मजदुरहरुलाई म्याग्दी लैजाने जानकारी गराएपछि म्याग्दीका स्थानिय तह तथा सरोकारवालाहरुले गुनासो गरे । यसैगरी हरीयाली ग्रुप, काठमाण्डौले पनि म्याग्दी जान चाहनलेहरुलाई बेनी सम्म लैजान सहयोग गर्ने जानकारी गराउँदै सम्पर्क नम्वर राखेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्धारा लकडाउनको समय भएको र नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्ढै गएकाले अत्यावश्यक सवारी साधन र विरामी तथा जरुरी काम परेका बाहेकका अन्यलाई जिल्लाभित्र ल्याउन नहुने उनिहरुको भनाई छ । बाहिरी जिल्लाबाट सवारी साधन मार्फत यात्रु ओसारपसार गर्दा यात्रुमा कोरोना संक्रमणको जोखिम बढ्ने र जिल्ला–गाउँमा कोरोना भाइरस भित्रिने सम्भावना भएकाले घर आउन चाहनेहरु लकडाउन नखुलेसम्म धैर्य गरेर सुरक्षित रुपमा बस्न समेत अपिल गरेका छन् । बिश्व स्वास्थ संगठनले विश्व झन पछि झन उच्च जोखिममा रहेको तथ्यांक सार्बजनिक गरिरहेको बेला सांसद ,केही सामाजिक अभियन्ता तथा जिल्ला तहका नेताहरुले नै लकडाउनको अवज्ञा गर्दै चुनावी शैलीमा मान्छे भित्र्याउन लागेकोमा आपत्ती जनाउँदै विवेक नगुमाउन समेत आग्रह गरेका छन् । म्याग्दी प्रवेश गर्नेहरु १४ दिन स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

जिल्लाको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगरले सामाजिक संजाल फेसबुक मार्फत स्थानीय सरकारसंग समन्वय नगरी बजारबाट गाउँ मान्छे पठाउने समुह सरकार विरोधी हुन् कि हे हो ? भन्दै प्रश्न गर्नुभएको थियो भने पछि साँझपख अर्को स्टाटस पोस्ट गर्दै भन्नुभयो ‘पहिलो चरणमा काठमाण्डौंमा रहनुभएका विद्यार्थी ,मजदुरहरु र उपचारको क्रममा अलपत्र परेकाहरुलाई गाउँ ल्याउन तयारी छौं ।गाउँ आएपछि क्वारेन्टाइनमा बसेर मिलीजुली अर्गानिक खाना बनाउदै खादै गर्नुपर्ने हुन्छ ।काठमाण्डौंबाट गाउँ फर्केपछि फेरी अर्को रबैया देखाउनुहुने छैन ।’

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरले गाउँपालिकासंग समन्वय नै नगरी विभिन्न निजि तथा सरकारी सवारी यातयातका साधनले विभिन्न सहरबाट नागरिकहरु गाउँतिर ओसारपसार गरेको भन्दै गाउँपालिकालाई जानकारी गराएर मात्र यात्रुहरु ओसारपोसार गर्न र आवतजावत गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिका बासीलाई अनुरोध गर्दै भन्नुभयो, ‘विश्व कोरोनोको चपेटामा परेको समयमा देशविदेशमा रहेका नागरिकलाई सुरक्षित तरिकाले स्वस्थ्य चेकजाँच गरी घर सम्म पु¥याउने जिम्मेवारी गाउँपालिकाको भएपनि नेपाल सरकारको निर्देशन अनुसार लकडाउनलाई प्रभावकारी बनाउन अत्यावश्यकबाहेका अन्यलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिन विभिन्न कार्यहरु गर्दै आइरेको छ तर जिल्ला भन्दा बाहिर बस्ने केही व्यक्तीहरुले स्थानीय तहसंग समन्वय नगरी आफ्नो खुशिले बाहिरबाट मान्छे ल्याउनका लागि विभिन्न सुचना माध्यमबाट थाहा पाएको हुँदा यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछु । अन्यथा त्यस्तो कार्य भएमा गाउँपालिकाबाट नियम सम्बत कारबाही हुने जानकारी गराउदछु ।’

यसैगरी संविधान सभाका सदस्य एव् नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशम बहादुर बानियाँ, सामाजिक अभियान्ता चन्द्रकुमार केसी ,हरिप्रसाद पौडेल र समाजसेवी यद्योगी सुविन श्रेष्ठ लगायतले पनि लकडाउनको समयमा बाहिरी जिल्लाबाट विरामी र जरुरी परेका बाहेकका अन्य यात्रु म्याग्दीमा ल्याउँदा कोरोनाको जोखिम भित्रिने बढी सम्भावना हुने भन्दै म्याग्दी आउन चाहनेहरुलाई केही समय धैर्य गरेर बस्न र सहयोग गर्न चाहनेहरुलाई बाहीरी जिल्लामा लकडाउनबाट प्रभावित म्याग्दीलीहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

अनुगमनको क्रममा चैत्र २८ गते म्याग्दी आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले जिल्ला प्रशासन कार्यालय म्याग्दी र स्थानीय तहलाई लकडाउनको समयावधिभर अत्यावश्यक सवारी साधन तथा विरामी र जरुरी काम परेका बाहेकका अन्य व्यक्तीहरुलाई म्याग्दी भित्रिन पास नदिन निर्देशन दिनुभएको थियो । ‘लकडाउन सबैलाई हो’, उहाँले भन्नुभयो ,पहुँचको आधारमा कसैलाई पनि छुट दिनुहुँदैन ,पहुँच देखाउन खोजे मलाई भन्नुहोला ।’ प्रदेश सरकारले प्रदेशभित्र लकडाउनलाई प्रभावकारी बनाउन एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्न समेत रोक लगाएको छ । यसैगरी गण्डकी प्रदेश प्रवेशमा समेत रोक लगाइएको छ ।

सापकोटाले समाजिक संचालन मार्फत ‘ म्याग्दीबाट जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय तथा प्रदेशका माननियहरुको पहलमा म्याग्दीबाट काठमाण्डौं आई अस्थायी बसोबास गरी बस्ने विद्यार्थी तथा मजदुरहरु देशभरी भएको लकडाउनको कारण लकडाउनको समयमा –म्याग्दी) घरमा जान नसकी समस्यामा पर्नुभएकाहरुले आफ्नो वडा ,गाउँपालिका ,नगरपालिका (म्याग्दीलाई) जानकारी गराई गाउँ जानको लागि काठमाण्डौंमा निम्न व्यक्तीहरुलाई सम्पर्क गर्नुहोला ।’

यता गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले लकडाउनको समयमा काठमाण्डौंबाट यात्रु ल्याउन आफुले कुनैपनि पहल नगरेको जानकारी दिनुभयो । ‘म्याग्दी आउन चाहनेहरुका लागि भनेर सम्पर्क नम्वर दिइएको रहेछ,’ सांसद केसीले भन्नुभयो । ‘सामाजिक संजालमा भनिए जस्तो मैले कुनै पहल गरेको छैन् ।’

शहरमा दुःख पाएका मजदुरहरुलाइ जिल्ला पठाउँदा कसैले बिरोध गर्दैन तर कम्तिमा स्वास्थ्य चेकजाँज गराएर पठाएको भए भोली त्यसले गाउँमा भबितब्य निम्त्याउने थिएन । कोरोना संक्रमित बढीरहेका बेला अघोषित रुपमा जसरी चुनावमा भोटर ओसार पसार गरेजस्तै शहरबाट गाउँमा भित्र्याउने पहल गरिरँहदा यसको सहि व्यवस्थापन नुहँदा भोली त्यसले समस्या ननिम्त्याउला भन्न सकिदैन । मन्त्री ,सांसद तथा राजनितिक नेताहरुले आफनो बिबेक प्रयोग नगरी धमाधम यसरी बाहिरबाट मान्छे ल्याउन पहल गरिरँदा यदी कोरोना घर– घर, गाउँ –गाउँ पुग्यो भने त्यतिखेरको अवस्था कस्तो होला ? त्यसैले अकल्पनिय क्षेतिको साक्षी नबनौं । हाम्रो घर, परिवार, समाज डेन्जर जोनमा छ भन्नेमा बेलैमा सचेत बनौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार