भारतबाट आएका ५९सहित ६१ जनालाई क्वारेनटाइनमा राखियाे

बेनी ,सोमबार जेठ १२ गते ।भारतबाट आएका ५९ जना र दुई सवारी साधनका स्टाफ सहित ६१ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना चालक तथा सहचालकलाई राखिएको हो । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू विश्वभर कोरोना संक्रमणको सन्त्रास बढेसँगै स्वदेश फर्किएका हुन् ।

सिमा क्षेत्रमा अल्पत्र परेका म्याग्देलीहरुलाई स्थानीय तहहरुसंगको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्ट,म्याग्दीले उद्धार गरेको हो । तीन दिनको अवधिमा मात्रै ५९ जनालाई जिल्लामा ल्याएर क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । प्रजिअ ढकालका अनुसार सिमानाकाबाट उद्धार गरि ल्याउनेहरुको सख्या बढ्दो छ ।

जेठ ९ गते चालक सहित १४ जना, १० गते २९ जना र ११ गते १८ जनालाई क्वारेनटाइनमा राखिएको कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो । एकान्तबासमा राखिएकाहरुको खाना खर्च सम्बन्धित स्थानीय तहले ब्यहोर्न जनाइएको छ । कोरोना फैलिन नदिनका लागि भारतबाट आएकाहरुको पिसिआर परिक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्र घर पठाइने छ ।

कोरोनाको त्रास र लकडाउनका कारण भारतमा अलपत्र परेर सिमा नाका सम्म आएर सम्पर्क गरेकाहरुलाई सम्बन्धित स्थानीय तह र प्रशासनसंग समन्वय गरेर जिल्लामा ल्याई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको हो । भारतबाट आउने क्रम बढेपछि म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको एकान्तबास बनाइएको छ । यसअघि न्यु वेष्ट पोइन्टमा ३० जना सहित जिल्लाभर १७३ जना क्षमताको क्वारेनटाइन निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार