कोरोनाबारे जनचेतना फैलाउँदा डाक्टर पुनमाथि कारबाही

काठमाडौं,शनिबार बैशाख ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।

टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको दावी गरे ।

‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेषकारण बस बाहिर हुँदा पत्र खोलेर हेरेको छैन’, शनिबार बिहान रातोपाटीसँग उनले भने ।
‘गोप्य’ पत्र आइतबार खोजेर हेरेपछि थप कुरा आउने उनले बताए ।

स्रोतका अनुसार टेकु अस्पतालका टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनलाई हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, पुनले भने आफूले कोरोनाभाइरसबारे जनचेतना फैलाएको बताएका छन् ।

आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझदैन भने आफूले भन्नु केही नहुने बताए । ‘मैले आफूलाई जानकारी भएको विषय सञ्चारमाध्यममार्फत र अन्यमार्फतबाट लगातार जनचेतना फैलाउँदै आएको साँचो हो । मेरो नाममा पत्र आएको सुनेको छु । तर त्यसमा के छ मैले हेरेको छैन’, उनले रातोपाटीसँग भने ।

स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए । तर, उनले त्यसको वेवास्ता गर्दै जनचेतना मैलाउने काममा निरन्तर लागेपछि कारबाही भएको हो । स्रोतका अनुसार मन्त्रालयमा तानिएको भनिएपनि करारका डाक्टरमा मन्त्रालयमा तान्नुको औचित्य नभएको बतायो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार