पोखरा र काठमाण्डौंका म्याग्दीलीहरुद्धारा स्वास्थ्य सामाग्री सहयोग (तस्बिर/भिडियो)

म्याग्दी ,शुक्रबार बैशाख १८ गते । विभिन्न शिलशिलामा पोखरा र काठमाण्डौं बसोबास गर्ने म्याग्दीलीहरुले जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पोखरा र काठमाण्डौंमा बसोबास गर्ने म्याग्दीलीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

पोखरा र काठमाडौमा बस्दै आएका म्याग्देलीहरुले नागरिक स्तरबाट आर्थिक संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत शुक्रबार स्थानीय तह, अस्पताल र स्वास्थ्य संस्थाहरुमा कोरोना रोकथामका लागि आवश्यक सामाग्री उपलब्ध गराएका हुन् । ३ लाख पचास हजार रुपैयाँ बढी मुल्य बराबरको ११० थान पिपिई, स्यानिटाइजर, सर्जिकल माक्स, एन ९५ मास्क र ग्लोब्स उपलब्ध गराइएको समन्वयकर्ता उमबहादुर पाइजा पुनले बताउनुभयो ।

उहाँका अनुसार बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्लाका ६ वटै स्थानीय तहका ४३ वटा वडाका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । काठमाडौ र पोखरामा बस्नुहुन डा.ज्योति शेरचन, प्रताप पुर्जा पुन, उमबहादुर पाइजा पुन , ले.राजु शेरपुर्जा पुन र बमबहादुर चोचाङ्गी पुनको संयोजनमा पाेखरा र काठमाडौमा रहेका म्याग्देलीहरुबाट आर्थिक संकलन र सामग्री जुटाइएको थियो ।

कोरोनासंगको लडाइको लागि राज्यलाई सघाउन नागरिक स्तरबाट सहयोग गरिएको ले. शेरपुर्जा पुनले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दीमा कोरोना रोकथामका लागि स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न समुदाय, संघ संस्था र नागरिकहरुले महत्वपूर्ण सहयोग गरेका बताउनुभयो ।

उहाँले बेनी अस्पतालमा भेन्टिलेटरको स्थापना गर्नका लागि प्रवासी म्याग्देलीहरुले चासो देखाएको र प्रशासनको तर्फबाट सहजिकरण गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा प्रजिअ ढकाल, रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारी ,राजनितिक दलका प्रतिनिधि ,स्वास्थ्यकर्मी ,समाजसेवी ,सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार