म्याग्दीमा एकै दिन थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ७ पुग्यो

म्याग्दी ,बुधबार वैशाख २४ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचारका लागि आएका तनहुँको दमौली घर भई बेनी नगरपालिका – मंगलाघाटका एक र मंगला गाउँपालिका –१ भर्जुलाका एक जनामा जाँच गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । यससंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या ७ पुगेको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जना पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

file photo

मंगलाघाटका २८ वर्षीय ३ दिन अघि तनहुँबाट आएका हुन् । भर्जुलाका बिरामी गाउँमै खेतबारीको काम र जंगलमा निउरो टिप्न गएका थिए । म्याग्दीमा पहिलोपटक माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । बैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो ।

वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घई बेनी–५ भिरमुनी बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक जना बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा रिफर गरिएको छ भने अन्य निको भएर घर फर्कीएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

डेङ्गुको जोखिमबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका क्लिनिकल प्रमुख डा.नवराज बस्ताकोटीले बताउनुभयो । गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।

यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसमको समयमा लामखुट्टे सक्रिय हुने भएकाले विशेष सरसफाईमा ध्यान दिनुपर्ने डा.बस्ताकोटीको सुझाव छ । बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क ,कालिपुल ,पारीबेनी र पुलाचौर स्थित भिरमुनीलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो ।यसैगरी म्याग्दीमा डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान चलाइएको छ ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार