बाँझो जमिनमा खेति गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने

बेनी,सोमबार जेठ ०५ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ । गाउपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा आइतबार मुनामा बसेको कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरि बाँझो जमिन प्रयोगमा ल्याउने सम्बन्धी कार्यबिधि ल्याएर कार्यान्वयन गर्ने कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

जमिन बाँझो राख्ने समस्या घटाउने, खेतितर्फ आकर्षित गरेर उत्पादन बढाउने, आयात घटाउने, रोजगारि र आयआर्जन बढाउन यस्तो नीति लिने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैदेशिक रोजगारि, बसाइसराइका कारण जनशक्तिको अभाव, कृषि उपज बिक्री गर्दा उत्पादन लागत पनि नउठ्ने, प्राकृतिक प्रकोप, बाँदर आतंक, बजारको अभाव लगायतका कारणले बस्ति देखि टाढाको खेतबारीमा खेति गर्न छाडेका छन् ।

खाद्यबालीको साथै उच्च बजार मूल्य भएका दलहन, तरकारी, फलफुल, जडिवुटीको ब्यवसायिक खेतितर्फ आकर्षित गर्न लागिएको प्रवत्ता छन्त्यालले बताउनुभयो । तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिम्मुर लगायतका जडिवुटी खेति गर्न कृषकहरुलाई आग्रह गरिएको छ ।

विश्वब्यापी महामारी बनेको कोरोना भाइसरका कारण खाद्य संकटको अवस्था आउन नदिन पालिकाका ७ वटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई उपलब्ध गराइने भएको छ ।

राहत वितरणमा स्थानीय कोदो, मकै, गहुँ, धान, जौ, उवा लगायतका खाद्यान्नलाई प्राथमिकता दिइने भएको छ । यसैगरी खाद्यान्नको प्रयोग गरेर मदिरा उत्पादनमा समेत रोक लगाइएको छ । कोदो, गहुँ, मकै, चामलबाट घरेलु मदिरा बनाउने चलन छ ।

खाद्य संकट, सामाजिक विचलन र आर्थिक संकट ल्याउने भएकाले मदिरा उत्पादनबाट जिविकोपार्जन गर्दै आएकाहरुलाई आयआर्जनको बैकल्पिक सिप सिकाउने गाउपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार