गाउँपालिकाद्धारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

म्याग्दी ,सोमबार जेठ ०५ गते । म्याग्दीको मालिका गाउँपालिकाले घरदैलोमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनका कारण भत्ता वितरणमा ढिलाइ भएपछि गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र कर्मचारी ।


सामाजिक दुरी कायम गरेर सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्ने कार्य सुरु भएको उहाँले बताउनुभयो । घरदैलोमै सामाजिक सुरक्षा भत्ता पाएपछि नागरिक पनि खुसी भएका अध्यक्ष रोका मगरले बताउनुभयो । उहाँका अनुसार आइतबार वडा न.ं १ निस्कोट देखी सामाजिक सुरुक्षा भत्ता वितरण गर्न थालिएको हो । सामाजिक सुरक्षा भत्ता सबै सात ओटै वडामा वितरण गरिने उहाँले बताउनुभयो ।

‘हामीले नागरिकलाई केही सहज होस् भनेर घरदैलोमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेका हौं ,’ अध्यक्ष रोका मगरले भन्नुभयो । ’ बृद्धबृद्धा, एकल महिला ,दलित बालबालिका र अपाङ्गता भएकाहरुलाई भत्ता वितरण गरिएको छ ।

गाउँपालिकाका ७ ओटै वडामा प्रभु बैंक लिमिटेड दरबाङ्ग र गरिमा विकास बैंक दरबाङ्ग शाखाले भत्ता वितरणको काम गरिरहेको बताइएको छ । सामाजिक सुरक्षाभत्ता पाउने नागरिकहरुलाई लकडाउनका बेला केही सहज होस् भन्नका लागि वडा कार्यालय मार्फत सामाजिक सुरक्षाभत्ता वितरणको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले भन्नुभयो ,‘हामीले लकडाउनका कारण एकै ठाउँमा भेला गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अवस्था भएन । त्यसैले घरघरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका छौं ।’ गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताका लागि करिब साढे दुई करोड रुपैयाँ निकासा गरिएको छ । आइतबार निस्कोटमा १५० बढी ,वडा नंं ६ को दिच्याममा २१० र वडा नं ७ बिममा २६० जनालाई भत्ता वितरण गरिएको छ भने अन्य वडामा पनि सामाजिक सुरक्षा वितरण थालिएको प्रमुख प्रशासकिय अधिकृत विश्वकर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार