नगरपालिकामा कोल्ड स्टोर निर्माणका लागि आएको १ करोड रुपैयाँ फ्रिज

अमित बिश्वकर्मा
म्याग्दी ,शनिबार जेठ ३१ गते ।चालु आर्थिक वर्ष २०७६/७७ का लागि संघिय सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट काम हुन नसकी फ्रिज भएको छ ।
नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग गरेको थियो । सोही अनुसार चालु आर्थिक बर्षमा केन्द्र सरकारले रु १ करोड बजेट विनियोजन गरेको थियो ।

फाइल तस्विर


बजेट त विनियोजनत भयो तर उक्त बजेट अनुसारको काम हुन नसक्दा बजेट फिर्ता भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । नगरपालिकाको लागि प्राप्त बजेट भएकाले नगर क्षेत्र भित्रै कोल्ड स्टोर निर्माणका लागि सार्वजनिक जग्गा ब्यवस्थापन गर्न नसक्दा उक्त बजेट कार्यान्वयन गर्न नसकिएको बेनी नगरपालिका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।


कृषकले उत्पादन गरेका मौसमी तथा वेमौसमी फलफूल र तरकारीहरुलाई चिस्यान केेेन्द्र आवश्यकता त हो, तर बेनी नगरपालिका- ४ सिंगासम्म पुग्दासमेत सार्वजनिक जग्गा नपाएपछि बनाउन नसकिएको बराइलीले बताउनुभयो ।

‘कोल्ड स्टोर निर्माणका लागि करिब दुईदेखि ३ रोपनी जग्गाको आवश्यकता पर्छ तर हामीले एक रोपनी जग्गा समेत पाएनौं,’ प्रवक्ता बराइलीले भन्नुभयो ‘अर्को वर्ष यसैमा बजेट थप गरी माग गर्छौं र जसरी भएपनि जग्गा व्यवस्थापन गरी कोल्ड स्टोर निर्माण गर्छौं ।’


कृषकले उत्पादन गरेको सामाग्री लामो समयसम्म पनि सुरक्षित राख्न सकिने चिस्यान केेेन्द्र निर्माणमा बजेट आएर पनि काम गर्न नसक्नु नगरपालिकाको कमजोरी र कृषक प्रतिको वेवास्ता भएको कृषकहरुले बताएका छन् ।

बेनी नगरपालिका- ४ बास्कुनाका कृषक तिलक गुरुङले बास्कुना गाउँमा २० हजार बोट फल दिने सुन्तला भएका र त्यहाँ कोल्ड स्टोर अति आवश्यक भएकोले निर्माणका लागि नगरपालिकामा धेरै अनुरोध गर्दा पनि नगरपालिकाले वास्कुनामा कोल्ड स्टोर निर्माण नगरेको बताउनुभयो ।


उहाँले नगरपालिका भित्र वास्तविक किसानको पीडा बुझ्ने जनप्रतिनिधि र कर्मचारी नहुँदा किसानका लागि आएको रकम पनि फिर्ता भएको गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार