रघुगंगा गाउँपालिकाको आठौँ गाउँसभा : नीति तथा कार्यक्रम सहित ३९ करोड ७४ लाखको बजेट पारित

म्याग्दी ,बिहिबार असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट बक्तब्यमा कोरोना उपचार तथा रोकथाम कोषमा रु १ करोड बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले पाखापानी र पिप्लेमा ल्याब स्थापना गर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य विमा गर्ने, निशुल्क वितरणको लागि औषधी खरिद गर्ने, स्वास्थ्य उपकरण खरिद गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतको स्वास्थ्य क्षेत्रमा रु ५ करोड ७४ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार तर्फ रु १० करोड ३७ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले शिक्षा क्षेत्रतर्फ रु १२ करोड ७३ लाख, कृर्षितर्फ रु १ करोड २ लाख, गरिबी निवारणतर्फ रु १२ लाख, उद्यमशिलता, श्रम तथा रोजगार तर्फ रु ६३ लाख , पर्यटनतर्फ रु १२ लाख, पशुपालनतर्फ रु ५८ लाख , वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६० लाख, शुसासन तथा संस्थागत क्षमता विकासमा रु ९५ लाख बजेट विनियोजन गरेको छ ।

गाउँसभामा उपाध्यक्ष तिलिजाद्धारा प्रस्तुत कुल रु ३९ करोड ७४ लाख, ३५ हजार २४० को बजेट पारित भएको छ । चालुतर्फ रु १९ करोड ८३ लाख र पुजीगत तर्फ रु ११ करोड ५८ लाख ३१ हजार बजेट विनियोजन भएको छ । बजेट बक्तब्य पेश हुनुअघि गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाले स्विकृत गरेको छ । अध्यक्ष भण्डारीले गाउँपालिकाको समग्र विकास र समृद्धिका योजनाहरुलाई समेटेर प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कोरोना रोकथाम र नियन्त्रण संगै पूर्वाधार निर्माण, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रको सम्भावनाको उजागर गर्नतर्फ जोड दिईएको छ ।

गाउँसभाको उद्घाटन समारोहमा बोल्दै नेकपा रघुगंगा गाउँकमिटीका अध्यक्ष दिपक कार्कीले संघिय व्यवस्थाले जनताका चाहना र आबश्यकताहरु पुरा गर्नको लागि जनप्रतिनिधिहरुले जिम्मेवार रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघिय र प्रदेश सरकार संग समेतको सहकार्यमा गाउँपालिकामा विकास निर्माण योजनाहरु सञ्चालन गर्नको लागि आफुले समन्वयकारी भूमिका खेल्न तयार रहेको बताउँदै गाउँपालिकाले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभाबकारी र ब्यबहारिक बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि नेपाली काँग्रेस रघुगंगा गाउँपालिका स्तरीय समितिका सभापती एवम् वडा नम्बर ३ का वडा अध्यक्ष जिवनकुमार मल्लले कोरोना रोकथाम र नियन्त्रणको लागि सबै पक्षले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको विकासको लागि सबै पक्षहरुबिच रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिँदै गाउँमा पुग्ने योजनाहरुलाई प्रभाबकारी बनाउनतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । गाउँसभामा वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुजा र प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार