मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण

अमित विश्वकर्मा
म्याग्दी ,शुक्रबार असार १२ गते ।

गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभएका मन्त्री लम्सालले बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेको क्वारेन्टाइन र खुलामञ्च स्थित शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेशन कक्षको निरिक्षण गर्नुभएको हो । मन्त्री लम्सालसंगै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रतिनिधिहरुले समेत क्वारेन्टाइन र आइसोलेसनको निरिक्षण गरेका थिए ।

निरिक्षण पछि जिल्ला समन्वय समितिको हलमा आयोजित छलफल कार्यक्रममा मन्त्री लम्सालले गण्डकी प्रदेशका अन्य जिल्लाहरुको तुलनामा म्याग्दी जिल्ला सुरक्षित रहेको,यहाँको व्यवस्थापन अन्य जिल्लाको तुलनामा राम्रो रहेको र क्वारेन्टाइन तथा आइसोलेसनको वातावरण उत्कृष्ट रहेको बताउनुभयो । मन्त्री लम्सालको कोरोना संक्रमणबाट जोगिन म्याग्दीले गरेको व्यवस्थापकीय कार्य अरु जिल्लाहरुका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।

अहिलेसम्म सरकारले पूर्वाधार निर्माणलाई जोड दिँदा स्वास्थ्य क्षेत्र पछि परेको स्वीकार गर्दै अवको बजेटमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । साथै जिल्लामा सरकार,नागरिक र संघसंस्थाहरुको सक्रियतापूर्वक समन्वयकारी भूमिका रहेको आफूले पाएको मन्त्री लम्सालको भनाई थियो । संक्रमणको जोखिम न्यूनिकरणलाई प्रचारमुखी बनाउनु भन्दा पनि गम्भिरताका साथ काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

साथै मन्त्री लम्सालले धौलागिरी क्षेत्रका कुनै एउटा अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने र यस क्षेत्रका स्वाब यही परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी,प्रहरी नायव उपरिक्षक,जिल्ला कमाण्ड पोष्टका पदाधिकारी,स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार