नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या २९ पुग्यो

काठमाडौं,सोमबार असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा वितेको पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।

यसैगरी कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको आइतबारमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्न अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार