कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा तातोपानी कुण्डमा स्नान (फोटोफिचर)

प्रताप बानियाँ
म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उहाँहरु प्रसिद्ध तातोपानी कुण्ड पुग्नुभएको हो ।

हेलिकप्टरमार्फत म्याग्दी आउनुभएका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुग्नुभएको थियो । कुण्डमा उहाँहरुले कांग्रेस म्याग्दीका जिल्लास्तरका नेताहरुसँगै स्नान गर्नुभयो । कांग्रेस सभापति देउवा एकैछिन मात्रै तातोपानी कुण्डमा डुबेर निस्कनुभयो भने वरिष्ठ नेता पौडेल भने केहीबेर कुण्डमा डुब्नुभयो । कुण्डमा स्नान गरेर निस्कने क्रममा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महशुस भएको बताउनुभयो । उहाँले तातोपानी कुण्डको प्रचारप्रसार गर्नुपर्ने भन्दै कुण्डको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी वरिष्ठ नेता पौडेलले तातोपानी कुण्डमा डुब्दा आफूलाई स्वर्गको अनुभूति भएको बताउँदै आफूले आनन्दको महशुस गरेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालको विभिन्न स्थानमा तातोपानीका कुण्ड र मुहानहरु रहेको हुँदा धार्मिक रुपले पनि तातोपानीको महिमा रहेको बताउँदै यसले मानिसलाई पवित्रता कायम गर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले समृद्ध नेपाल निर्माणका लागि खनिज पदार्थको उत्खनन्, कृषिको क्रान्ति र पर्यटनको विकास समृद्धिको आधार भएको बताउनुभएको छ ।

तातोपानी कुण्ड स्नान गर्नुपूर्व नेताद्वयले कुण्ड परिसरको अवलोकन समेत गर्नुभएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिले नेताद्वयलाई कुण्डमा स्वागत गरेका थिए । उहाँहरुलाई कुण्ड र तातोपानी क्षेत्रको बारेमा जानकारी गराउँदै कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले बेनीदेखि तातोपानीसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुपर्ने, कुण्डको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै तातोपानी कुण्डबाट प्राप्त आम्दानी तातोपानीको सरस्वती माध्यमिक विद्यालयका ११ जना शिक्षक कर्मचारीको तलब÷भत्ता व्यवस्थापनमा सहयोग गर्ने गरिएको बताउनुभयो । विद्यालयलाई सरकारी दरबन्दीको व्यवस्था भएमा कुण्डको आम्दानी कुण्ड व्यवस्थापनमा नै परिचालन गर्न सकिने उहाँको भनाइ छ ।

कुण्डको तर्फदेखि नेताद्वयलाई मायाको चिनो प्रदान गरिएको थियो । यसअघि गएको कात्तिक अन्तिम साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा आफ्नो परिवारसहित म्याग्दी आएर तीन दिनसम्म तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो । उहाँहरुको स्नानसँगै देश विदेशमा अहिले तातोपानी कुण्डको विषयमा व्यापक रुपमा प्रचारप्रसार भैरहेको छ । पछिल्लो समय म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको छ । यसपटक कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले गरेको तातोपानी कुण्डको स्नानलाई पनि जिल्लामा निकै महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार