स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही

बेनी मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप लगाएका छन् ।

तत्कालिन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङबाट १५ महिनामा काम सम्पन्न गर्ने सम्झौता सहित गत बर्ष साउन महिनादेखि सुरु गरिएको ओखरबोट स्वास्थ्य चौकिको भवन निर्माण कार्य तीन महिना अगावै असारमा सम्पन्न भएको थियो ।


१ करोड २६ लाखको लागतमा १७ शैैया क्षमता भएको भवन निर्माण भएको हो ।१७ वटा कोठा भएको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शैया रहने छुट्टा÷छुट्टै कक्ष छन् । भुकम्प प्रतिरोधी क्षमताको भवन छ ।

हस्तान्तरण गरेको एक बर्ष नहुँदै भवनको भित्रि खानेपानी पाइप जडान ,टायल विछ्याउने तथा प्लास्टर निर्माणमा चरम लापरबाही भएको भेटिएको हो ।खानेपानी पाइप जडान गरेको एक बर्ष नहुँदै पानी चुहावत भएपछि भवन कमजोर बन्दै गएको छ भने विछ्याएको टायल र प्लास्टर गरेको संरचना फुट्दै गइरहेको छ ।


पाइप फुटेर पानी चुहिने हुँदा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु र सेवाग्राहीले सास्ती व्यहार्दै आइरहेका छन् । गाउँमै सुबिधा सम्पन्न भवन निर्माण भएसंगंै दुर्गम भेगका सेवाग्राहिहरुले सर्वसुलभ रुपमा छिटो छरिटो तथा सहज तरिकाले स्वाथ्य सेवा लिने अपेक्षा सहित निर्माण भएको भवनको भित्रि संरचनाको अवस्था देखेर भने स्थानिय निराश भएकाछन् ।भवन निर्माणको नाममा आँखामा छारो हाल्ने काम भएको स्थानियले आरोप लगाए ।

पानी चुहावतका कारण रातमा दुई हजार लिटर क्षमताको ट्याङकीमा भरेकाे पानी २४ घण्टा पनि नतिक्ने स्वास्थ्य चौकीका प्रमुख शम्भु श्रेष्ठले बताउनुभयो । समस्या समाधानका लागि सम्बन्धीत ठेकेदारलाई पटकपटक आग्रह गरे पनि वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो । पानी चुहावतका कारण स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवा ग्राहीलाई खानेपानी संगै सौचालयमा पानी समस्या हुने गरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


हस्तान्तरण गरेको एक बर्ष नबित्दै भवनमा देखिएको समस्या समाधानका लागि आग्रह गरे पनि ठेकेदारले आलटाल गर्ने गरेको उपभोत्ता समितिका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।

वडा अध्यक्ष एवम् व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका दिलिपकुमार शेरचनले भवन निर्माणमा देखिएको मर्मतको जिम्मेवारी लिन ठेकेदारलाई पटकपटक आग्रह गरेपनि ढिला सुस्ती गरेको उहाँको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको कडा निर्देशनमा मर्मतको जिम्मा लिने प्रतिबद्धता जनाएकाे गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीका जयन्द्र श्रेष्ठले भवन निर्माण हुँदा आफु नभएकाले कामदारहरुले निर्माणको क्रममा लापारबाही गरेको स्विकार गर्दै भवनमा देखिएको सम्पुर्ण मर्मतको जिम्मा कम्पनीले लिने बताए । कम्पनीको प्रतिनिधि मार्फत भवन निर्माण गरेको हुँदा कामदारहरुले लापरबाही गरेकाले समस्या देखिएको बताउँदै मर्मतमा लाग्ने सबै खर्चको जिम्मा कम्पनीले व्यहोर्ने ठेकेदार श्रेष्ठले बताए ।

भवन मर्मतमा ढिलाई गरे गाउँपालिकाले कानुनी कारबाहीको पक्रिया अगाडी बढाउन बाध्य हुने अध्यक्ष रोका मगरले चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार