साहित्यिक कार्यक्रमहरुको स्वरुप फेरिँदैःहातेमालोको आँगनमा तीन स्रष्टा

बेनी मंगलबार बैशाख ३ गते ।
बैशाख ७ गते शनिबार तीन जिल्लाका तीन स्रष्टाहरु सिर्जना वाचनको लागि एउटै आँगनमा उभिने भएका छन् । बागलुङ, म्याग्दी र पर्वतका तीन युवा लेखकहरु एउटै आँगनमा उभ्याएर सिर्जनाहरु सुन्ने वाताबरण मिलाएको छ हातेमालो साहित्य संगम बागलुङ शाखाले । बागलुङबाट युवा सञ्चारकर्मी, लेखक तथा पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष रहने छन् ।

शिरीषले श्रोता तथा दर्शकहरुलाई आफ्ना गजलहरु वाचन गरेर सुनाउने छन् । म्याग्दीबाट घायलश्रीको उपस्थिति रहनेछ । उनी सिर्जनशील युवा लेखकको रुपमा चिनिन्छन् । पछिल्लो समय साहित्यिक गतिविधिहरुमा सक्रिय देखिएका उनले आफ्ना कविताहरु सुनाउने छन् । त्यसैगरि पर्वतबाट डिल्लीराम शर्माले मुक्तकहरु सुनाएर दर्शक तथा श्रोताहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । शर्मा पर्वत साहित्य सङ्गमका सचिव समेत हुन् ।

युवा लेखकहरुलाई एउटै आँगनमा उभ्याएर उनीहरुका सिर्जनहरु सुन्ने अवसर जुटाइएको शाखाकी अध्यक्ष सरु पौडेलले जानकारी दिनु भयो । ‘प्रायः साहित्यिक कार्यक्रमहरुमा सबैजना उपस्थित हुने र सबैका रचनाहरु पालैपालो सुन्ने र सुनाउने गरिन्थ्यो तर यसपटक सबै उपस्थित भएर तीन स्रष्टाका मात्र सिर्जना सुन्ने तयारी गरिएको छ’ पौडेलले भन्नुभयो ।

तीन जिल्लाका स्रष्टाहरुलाई एकै ठाउँमा उपस्थित गराएर यसरी कार्यक्रम गर्दा साहित्यिक सद्भाव बढ्दै जाने र लेखकहरुमा थप उर्जा प्रदान गर्नु कार्यक्रमको मूख्य उद्देस्य रहेको छ । होटेल पिस प्यालेस बागलुङ्को सभा हलमा बिहान १० बजेबाट शुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार