रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन

प्रताप बानियाँ 
म्याग्दी, मंगलबार पौष १७ गते । एक हप्तादेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।


तालिमको समापन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेकी छिन् । उनले दक्ष तथा सक्रिय रेडियो उद्घोषक एवं पत्रकार बनेर गुणस्तरीय समाचारलेखनका साथै कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नगरपालिकामार्फत आवश्यक सहयोग गरिने बताएकी थिइन् ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै सञ्चारमाध्यमको संस्थागत विकासका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दीकाली सञ्चार सहकारीका कोषाध्यक्ष सुविन श्रेष्ठ र तालिमका प्रशिक्षक ध्रुवसागर शर्माले मन्तव्य राखेका थिए ।


यसैगरी तालिमका सहभागीद्वय कृष्ण कार्की र ममता बराईलीले अनुभव सुनाएका थिए । तालिमका प्रशिक्षकलाई कदरपत्र र मायाको चिनो तथा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम म्याग्दीकाली सञ्चार सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षता र एफएमका स्टेशन म्यानेजर अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । एक हप्तासम्म चलेको तालिममा ३७ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार