गोरखा संग्रहालय अब सातै दिन खुला रहने

गोरखा ,मंगलबार मंसिर ३ गते । गोरखा संग्रहालय माघ मसान्तसम्मका लागि मंगलबार पनि खुल्ला रहने भएको छ । यसअघि संग्रहालय हप्ताको एक दिन मंगलबार बन्द रहने गरेको थियो । पुरातत्व विभाग अन्तर्गतका सबै संग्रहालय सार्वजनिक बिदाका दिन बाहेक हरेक मंगलबार बन्द हुन्छन् भने शनिबार खुल्ला रहने गरेका छन् ।

गोरखा संग्रहालय भने कर्मचारीको आन्तरिक व्यवस्थापन गरेर सबै दिन खुल्ला राख्ने निर्णय गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले बताउनुभयो । मंगलबारका दिन आएका कर्मचारीलाई तलबको अतिरिक्त दैनिक ६ सय रुपैयाँ रकम दिने गरी व्यवस्थापन मिलाइएको उहाँको भनाइ छ ।
विशेष गरी शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुलाई लक्षित गरेर सातै दिन संग्रहालय खुल्ला राख्न थालिएको हो ।

असोज अन्तिम सातादेखि माघसम्म शैक्षिक भ्रमणका लागि गोरखा आउनेको संख्या बढ्ने गर्दछ । संग्रहालय मंगलबार बन्द हुन्छ भन्ने थाहा नपाएकाहरु अवलोकन गर्न नपाइ फर्कनु परेपछि सबै बार खुल्ला राख्नुपर्ने आवाज उठ्ने गरेको थियो । हरेक दिन संग्रहालय खुल्दा पर्यटकको संख्या बढ्ने र राजश्वमा पनि वृद्धि हुने भएकाले खुला गर्न लागिएको संग्रहालयले जनाएको छ ।

पर्यटकको संख्या बढ्दो

असोज महिनाको तुलनामा कात्तिकमा संग्रहालय घुम्न आउने पर्यटकको संख्या चार गुणाले बढेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कात्तिक महिनामा मात्रै १६ हजार ४० जनाले संग्रहालय अवलोकन गरेका छन् ।

असोजमा ४ हजार ६ शय ५२ जनाले संग्रहालयको अवलोकन गरेका थिए । गोरखा राज्य र नेपाल एकीकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाँडावर्तन, विभिन्न जातिका पहिचान झल्कने सामग्री, बाजा लगायतका सामग्रीहरु संग्रहालयमा राखिएका छन् । तत्कालीन राजा राजेन्द्रविक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरबारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो ।

परम्परागत नेपाली वास्तु शैलीबाट बनेको लगभग अन्तिम दरबार भएकाले त्यससम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तव्य बन्ने गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमि र ऐतिहासिक पक्षबारे जानकारी दिन चाहनेहरुले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् ।

संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरबार चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार