दिवङ्गत पितृलाई मोक्ष दिलाउन गलेश्वरमा शतबीज छर्ने भक्तजनको भिड

बेनी ,सोमबार मंसिर ९ गते ।
दिवङ्गत पितृलाई मोक्ष प्राप्तीको कामना गर्दै सोमबार गलेश्वर मन्दिरमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरमा शतबीज छरेका हुन् । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासको आधारमा कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो लगायत सात थरिका बीउ छर्ने गरिन्छ ।

गलेश्वरमा सतबिज छर्नका लागि यसपाली अहिलेसम्मकै धेरै भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभएको छ । प्रचारप्रसारका साथै सोमबारका दिन बालाचतुदर्शी पर्व परेकाले भक्तजनको भिड लागेको अध्यक्ष केसीको भनाइ छ । सोमबार हिन्दुधर्मवालम्बिका भगवान शिवको प्रिय दिन मानिन्छ । ‘गलेश्वरमा शतबीज छर्नका लागि अहिलेसम्मकै धेरै भक्तजन आएका छन्,’अध्यक्ष केसीले भन्नुभयो । ‘शतबीज छर्न आउनेमा जिल्ला भन्दा बाहीरी जिल्लाबाट आएका भक्तजनको संख्या धेरै छ ।’ पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौबाट समेत भक्तजनहरु आएका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । पितृ उद्धारका साथै मनोकामना पुरा हुने विश्वासले भक्तजन गलेश्वर आएका कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ । पुजा व्यवस्थापन र सुरक्षाका लागि जनपथ र शसस्त्र प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको छ । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार