समाचार प्रभाव ःसाङलो मुक्त भइन् सुमिना

साधन राम्जाली
म्याग्दी,मंगलबार मंसिर १० गते ।

दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व्यक्त गरेका थिए ।

दुई बर्षको उमेरमा आमाको कुटाईबाट मानसिक सन्तुलन गुमाएकी सुमिनाको पालपोषण हजुर आमा डोल्मा (कामी) विकले गर्दै आउनुभएको थियो । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा सुमिनालाई मानव सेवा आश्रम पोखरामा राख्ने व्यवस्था मिलाइएको छ । दुई बर्षदेखी साङलोमा बाँधिएकी सुमिनालाई मानव आश्रम सेवामा राख्ने व्यवस्था मिलाइएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

कोषको सचिवालयमा आयोजित कार्यक्रम मार्फत सुमिनालाई आश्रमको जिम्मा लगाइएको हो । फलिया गाउँबाट हजुर आमा डोल्माको साथ बेनी आएकी सुमिनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीको रोहबरमा आश्रमका प्रतिनिधि होमनाथ तिमिल्सिनालाई जिम्मा लगाइएको हो ।

आमा बुबाले दोस्रो विवाह गरेर घर छाडेर गएपछि सुमिनाको पालनपोषणमा समस्या हुने गरेको हजुरआमा डोल्माले बताउनुभयो । ‘सानैमा मानसिक सन्तुलन गुमाएकी नातिनिको उपचार र पालनपोषण हुने आशाले मानव सेवा आश्रमको जिम्मा लगाएकी हुँ ,’हजुरआमा डोल्माले भन्नुभयो । ‘उपचार पछि मैले नातिनीलाई घरमै ल्याएर पाल्ने छु ।्’

उद्धार कार्यक्रमका प्रनाउ मरासिनीले सडकमा अलपत्र परेका र मानसिक सन्तुलन गुमाएर दुःख पाएका मानिसहरुलाई मानव सेवा आश्रमले हेरचाह गरेर नमुना कामको थालनी गरेको बताउनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका प्रतिनिधि तिमिल्सिनाले आफन्त नभएर अलपत्र परेका तथा मानसिक सन्तुलन गुमाएका मानिसहरुको हेरचाह,पालनपोषण र उपचारको समेत व्यवस्था सहित आश्रम स्थापना गरिएको बताउनुभयो ।

यसै गरी सुमिना सहित उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका २६ वर्षीय गणेश पुर्जा,सोही गाउँकी ५२ वर्षीय मतीकला गर्बुजा र बेनीको अस्पतालचोकमा बेवारिसे अवस्थामा नाम ठेगाना नखुलेका एक युवाको पनि उद्धार गरी आश्रमको जिम्मा लगाइएको शान्ति कोषका अध्यक्ष शाक्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार