बागलुङ २ ‘ख’ मा जनमार्चाका शाही विजयी

बागलुङ ,सोमबार मंसिर १६ गते । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्नुभएको हो ।

शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । त्यसबेला पनि घर्तीका प्रत्यासी रहनुभएका कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गर्नुभएको थियो । सांसद घर्तीको असामयिक निधन भए पछि यस क्षेत्रमा उपचुनाव भएको हो ।

आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये समाजवादी पार्टीका अशोक कुमार विकले ३ सय १६ मत प्राप्त गर्नुभयो । नेकपाबाट बागी उम्मेदवारी दिएर वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिनुभएका शेरमान घर्तीको क्लिप चिन्हमा ९५ मत परेको छ ।

यस्तै, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४ सय अर्थात् ६१ प्रतिशत मत खसेको थियो । जस मध्ये ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो ।

यसैगरी बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–चुनावमा नेकपाका ढालेन्द्र शेरचन विजयी हुनुभएको छ । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार