म्याग्दीमा विभिन्न कार्यक्रम गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

बेनी,मंगलबार मंसिर १७ गते ।
म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । जिल्ला स्थित बेनी नगरपालिका र म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको सहयोग तथा बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दी ,बहिरा संघ ,नेत्रहिन संघ ,अपाङ्ग संघ म्याग्दी, बेनी नगरपालिका स्थित अपाङ्ग सञ्जालको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी बेनीमा दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले अपाङ्गता भएका व्यक्तीहरुलाई परिवार भित्र र बाहिर सबैले माया तथा सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री निर्माणलाई जोड दिइएको बताउनुभयो । कार्यक्रममा अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसी र अपाङ्ग खिमबहादुर केसीले समाज भन्दा पनि परिवारले हेला तथा घृर्णा गर्दा बढी पिडा हुने दुखेसो पोख्नुभयो ।‘स्थानीय तहले अपाङ्गतालाई बेवास्ता गर्ने गरेको छ ,’उहाँहरुले भन्नुभयो । ‘राजनितिक दलले चुनावको समयमा मात्र हामिलाई प्रयोग गरे,अहिले आएर सबैले बेवास्ता गरेका छन् ।’

दिवसको अवसरमा म्याग्दीमा अपाङ्गहरुलाई सहायता सामग्री सहयोग गरिएको छ । सहायता सामग्रीको अभावमा कष्टपूर्ण जीवन बिताइरहेका म्याग्दीका १८जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्रीहरु सहयोग गरिएको अपाङ्ग संघ म्याग्दीले जनाएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आर्थिक सहयोगमा सहायता सामग्रीहरु खरिद गरी अपाङ्गहरुलाई वितरण गरिएको हो ।

सहायता सामग्रीको सहयोग विना हिँडडुल गर्न समस्या भोगिरहेका ६ जनालाई सादा लठ्ठी, ५ जनालाई ह्वीलचियर, ४ जना दृष्टिविहिनलाई सेतो छडी र ३ जनालाई बैसाखी उपलब्ध गराइएको राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिीय सचिवालय सदस्य एवम् अपाङ्ग संघका जिल्ला सचिव सुरेन्द्र खत्रीले जानकारी दिनुभयो । ‘सामग्री अभावमा कष्टकर जिवन विताइरहेका अपाङ्गहरुलाई राहत मिलोस् भनि सहायता सामग्री सहयोग गरिएको हो,’ खत्रीले भन्नुभयो ।
कार्यक्रमको अवसरमा बौद्धिक अपाङ्गता र दृष्टिविहिन विद्यार्थीहरुलाई विविध खेलकुद विद्याका विभिन्न प्रतियोगितामा सहभागी तथा उत्कृष्ट स्थान हासिल गरेकोमा शिक्षा विकास तथा समन्वय इकाइले पुरस्कृत गरेको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दल बहादुर थापा मगर ,नेपाली कांग्रेस म्याग्दीका जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्ही ,गैर सरकार महासंघ म्याग्दीका उपाध्यक्ष अमर बानियाँ ,नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ आचार्य ,बेनी नगर कार्यपालिकाकी सदस्य गोरी दर्जी,सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी ,अपाङ्ग उत्थान संघ पर्वतकी सचिव जमुना आचार्य ,जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष गोपाल केसीको अध्यक्षता,बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीका अध्यक्ष याम बहादुर बानियाँको स्वागत र सचिव खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । दिवसको अवसरमा नगरपालिका सहित म्याग्दीका अन्य स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार