इग्रेमा कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण

बेनी,बुधबार मंसिर १८ गते ।
म्याग्दीको मालिका गाउँपालिका–३ इग्रेमा कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको आयोजना र सुआहारा कार्यक्रम मिलन म्याग्दीको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार इग्रेमा सो अभिमिखुकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय दलित समुदायलाई कानुनी साक्षरता ,सामाजिक हिंसा तथा मुलुकी ऐनका बारेमा अभिमुखिकरण गराइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष खर माया विटालुले पछिल्लो समय विभिन्न कारण सामाजिक हिंसा ,विकृती तथा विसङ्गती बढ्ढै गएकाले स्थानीय समुदायलाइ कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण गराइएको बताउनुभयो । लिङ्गको आधारमा कसैमाथि विभेद गर्न नहुने उहाँको भनाइ छ ।उपाध्यक्ष विटालुले पछिल्लो समय मदिरा तथा लागुपदार्थ दुव्र्यसनीका कारण लैङ्गिक हिंसा, सामाजिक,विकृती ,हत्या तथा हिंसा बढेकाले यसलाइ रोक्न तथा न्युनिकरण गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

‘पछिल्लो समय मदिरा तथा लागुपदार्थ दुव्र्यसनीका कारण लैङ्गिक ,सामाजिक हिंसा तथा विकृती लगायत जघन्य किसिमका अपराधिक क्रियाकलाप बढेको छ,यो कानुनी रुपमा दण्डदीय कार्य हो’ उपाध्यक्ष विटालुले भन्नुभयो । ‘सामाजिक हत्या, हिंसा, विकृती न्युनीकरणका लागि गाउँपालिकाले आवश्यक विभिन्न निति ,नियम तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिका संगै स्थानीय समुदायको सहकार्यले मात्र लैङ्गीक तथा सामाजिक हिंसा लगायत गलत क्रियालाप रोक्न सम्भव छ । ’

कार्यक्रममा सुआहारा फिल्ड सुपरभाइजर सुमित्रा पौडेलले पोषण तथा स्वास्थ्य सरसफाइ सम्बन्धी जानकारी गराउनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गौमति चापागाइ,स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की ,इलाका प्रहरी कार्यालय दरबाङ्गका निमित्त प्रहरी प्रमुख बलाराम पौडेल ,रोजगार संयोजक सावित्री गर्बुजा लगायतले सहजिकरण गर्नुभएको थियो ।

यस अघि सुआहाराको समन्वयमा अन्य वडाको विभिन्न टोलमा हजार दिनका आमासंग पोषण सम्बन्धी कार्यक्रम गरिएको उपाध्यक्ष विटालुले जानकारी दिनुभयो । अन्य वडामा पनि कार्यक्रम संचालन गर्ने गाउँपालिकाले जनाएको छ । वडा सदस्य ओम बहादुर बिकको अध्यक्षता तथा गाउँपालिकाकी कमला शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार