नेपालमै पहिलो पटक पर्वतमा गौ-महोत्सव सुरु

अध्यक्ष तिमिल्सीनाद्धारा गाईपालनको संरक्षण गर्नुपर्नेमा जोड

प्रताप बानियाँ
म्याग्दी, विहिबार मंसिर १९ गते ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गाईपालन र गाईको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा आयोजना गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौ–महोत्सवको उद्घाटन गर्दै उहाँले गाईपालनमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले गाईपालनले नेपालीको संस्कार, परम्परा र धर्मको समेत संरक्षण हुने भएकाले गाईपालन धार्मिक र जैविक हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गौशाला निर्माणका साथै आफूले घरमा पालेका गाईलगायत जनावरको संरक्षण गर्नेमा पनि ध्यान दिन स्थानीयवासीलाई सुझाव दिनुभएको छ । पछिल्लो समय गाईपालन हराउँदै जान थालेको हुँदा लोप हुने अवस्थामा पुगेकाले गाईको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

कालाञ्जर पर्वतको विकासका लागि गौशालालाई पनि जोडेर अगाडि बढाउनुपर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले कालाञ्जर क्षेत्रको धार्मिक र पर्यटकीय विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । अहिलेको सरकारले देश विकासको गतिलाई अगाडि बढाएको भन्दै उहाँले आर्थिक, सामाजिक र भौतिक विकास गरी देश विकासमा तीव्रता दिनुपर्ने बताउनुभयो । वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई आत्मसाथ गरेर समृद्धि सुखी र खुशीमा परिणत हुनुपर्ने अध्यक्ष तिमिल्सीनाले बताउनुभयो ।

अध्यक्ष तिमिल्सीनाले सबै मानिसहरु धनी बन्ने बाटोमा लाग्नुपर्ने भन्दै मानिसले मानिसलाई गर्ने व्यवहार सु–संस्कृत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लोपटक गाउँ गाउँमा सडक, बत्ती, खानेपानी, भवनलगायत विकासका पूर्वाधारहरु बढ्दै गैरहेको अवस्थामा विकास गाउँतिर जाँदै गर्दा पनि गाउँबाट भने मानिसहरु शहर बजारतिर झर्ने क्रम बढेको बताउनुभयो । ग्रामीण विकासले तीव्रता पाउँदै गएकाले शहर, बजारभन्दा पनि गाउँमै बस्ने वातावरण निर्माणमा पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पछिल्लो समय गाई लोप हुने अवस्थामा पुगेपनि पशुपालनतर्फ गाईको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले कालाञ्जर पर्वत क्षेत्रलाई विश्व सम्पदा सुचीमा समावेश गर्नका लागि आफूहरुले पहल गरिरहेको बताउँदै यसको विकास र प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ मिलनचोकको आयोजनामा सुरु भएको गौ–महोत्सव आउँदो २६ गतेसम्म सञ्चालन हुने भएको छ । गाईको संरक्षण, मानव स्वास्थ्यको रक्षा र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक पर्वतको मिलनचोकमा गौ–महोत्सव आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार