साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई मोना युकेद्धारा आर्थिक सहयोग

बेनी ,शनिबार मंसिर २१ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि मोना युकेले आर्थिक सहयोग गरेको छ । काठमाण्डौंमा शनिबार एक कार्यक्रमका विच मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन र कार्यसमिति सदस्य तथा मिडिया सहसचिव बागविर चोचाङ्गे पुनले निउरेका आमा हरिमाया निउरे र पुनम केसीलाई ३ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

मोना युकेको संयोजकत्वमा युकेमा च्यारिटी शो मार्फत युकेमा कार्यरत म्याग्दी तथा नेपालीहरुबाट सो आर्थिक संकलन गरिएको मोना युकेका महासचिव लालबहादुर पुनले जानकारी दिनुभयो । २०६८ जेठ २ गते साउदी अरबमा पुग्नुभएका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति)तिर्न नसक्दा जेलभित्रै हुनुहुन्छ ।

निउरेले कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा बस्नुपरेको हो । वस्तीका आफन्तले बीस लाख रुपैयाँ ब्लड मनि मागेका छन् । उनिहरुले ब्लड मनि पाएपछि निउरे नेपाल फर्कने कानुनी बाटो खुल्ने भएको छ । निउरेको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग जुटाउन अभियान चलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार