रत्नेचौर–बेनी सडक कालोपत्रे अन्तिम चरणमा

नारायण राई
बेनी ,आइतबार मंसिर २२ ।

रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम अन्तिम चरण पुगेको छ । बागलुङ्ग–बेनी सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको भुवाने देखि खबरा सम्म चार किलोटिर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो ।

सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको सडक स्तरवृद्धी र कालोपत्रेको काम २०७४ माघ देखि सुरु भएको थियो । कालोपत्रे गर्नुअघि सडक फराकिलो बनाउने, नाली निर्माण र ग्राभेल स्तरको काम सम्पन्न गरिएको थियो । चार किलोमिटर रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम करिब ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो ।

१२ करोड १७ लाख रुपैयाँ बढी लागतमा सो सडक कालोपत्रेको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको थियो । ‘कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ’,प्रतिनिधी जिसिले भन्नुभयो । संघीयता कार्यान्वयनपछि सडक डिभिजनले प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण गरेको थियो । गत वर्ष बजेट अभावमा अघि बढाउन नसकिएको यो सडकलाई यस वर्ष बजेट व्यवस्थापन गरेर सम्पन्न गराउन लागिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।

‘बागलुङ हुँदै म्याग्दीलाई राष्ट्रिय राजमार्ग संग जोड्ने बागलुङ–बेनी सडक खण्ड अन्तर्गतको रत्नेचौर–बेनी खण्डको सडक ककालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ’, ढुङ्गनाले भन्नुभयो । ‘चिसो बढेको कारण कालोपत्रेको काम केही समयलाई स्थगित गरिएको छ ।’ उहाँले खबरा देखि हाँडेभिरको पुलको मुख सम्मको सडक पनि कालोपत्रेका लागि प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

कालोपत्रेका लागि रिनेटीङ, ग्याबियन पर्खाल लगाउने, रक कटिङ गरेर सडकलाई नाली सहित १० मिटर फराकीलो पारिएको छ । ९ मिटर चौडाइका दरले कालोपत्रे गरिएको छ । यसअघि बागलुङ देखि रत्नेचौरसम्म दश किलोमिटर सडक कालोपत्रे भईसकेको छ । यो सडक कालोपत्रे भएमा बेनी नगरपालीका–१ र–२ का बासिन्दाका साथै म्याग्दी हुदै बागलुङ आवत जावतका लागि सहज हुने वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

यात्रा अवधि छोटीनुका साथै सवारी भाडा र ढुवानीदर घट्ने अपेक्षा गरिएको छ । बेनी–बागलुङ सडक मालढुङगा–बेनी सडकको विकल्पको रुपमा समेत रहेको छ । मालढुङगा बेनी सडक अवरुद्ध हुदा बागलुङ बेनी सडक भएर म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधन आवत जावत गर्न सक्नेछन् । सम्झौता अनुसार फागुन महिना भित्र सडक कालोपत्रेको काम सक्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार