निउरेको घर फिर्ती अभियानमा प्रवासीको आर्थिक सहयोग जारी ,मोना साउदीद्धारा एक लाख ८६ हजार रुपैयाँ बढी सहयोग

बेनी,आइतबार मंसिर २२ गते । हत्या आरोपमा साउदीको जेलमा रहनुभएका म्याग्दीका राजकुमार निउरेको घर फिर्ति अभियानका लागि विभिन्न देशमा रहेका म्याग्दीहरुले आर्थिक सहयोग अभियान संचालन गरिरहेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसीकोे पहलमा विभिन्न देशमा कार्यरत म्याग्दीलीहरुले आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी आइतबार मोना साउदीले पनि म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि आर्थिक सहयोग गरेको छ ।

बेनीमा एक कार्यक्रमका विच मोना साउदीका महासचिव तिलक पुनले आइतबार मोना आइईसीकी कार्यालय प्रमुख स्तुति सुवेदी श्रेष्ठलाई एक लाख ८६ हजार ८४० रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । मोना साउदीको संयोजकत्वमा साउदीमा रहेका नेपालीहरुबाट सो आर्थिक सहयोग संकलन गरिएको महासचिव पुनले जानकारी दिनुभयो । मोना साउदीको संयोजकत्वमा साउदीमा कार्यरत नेपालीहरुबाट सो आर्थिक सहयोग रकम संकलन गरिएको मोना साउदीका अध्यक्ष विपिन पौडेलले जानकारी दिनुभयो । मोना साउदीका सल्लाहकार निल प्रसाद सुनारको संयोजकत्वमा कृष्ण चोखाल,गोपाल रत्न ,विकास बाबु र छकप्रसाद परियार द्धारा थालीएको अभियानबाट सो रकम संकलन गरिएको मोना आइईका केन्द्रिीय सदस्य तथा साउदीका बरिष्ठ उपाध्यक्ष सुबोध बरुवालले जानकारी दिनुभयो । साथै उहाँले अभियानलाई सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

‘हत्या आरोपमा साउदी जेलमा जीवन विताइरहनुभएका राजकुमार निउरेलाई घर फर्काउन आर्थिक सहयोग अभियान थालिएको हो’, मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले भन्नुभयो ।‘मोना आइईसीको संयोजकत्वमा थालिएको अभियानलाई प्रवासमा रहेका म्याग्दीली सहित नेपालीहरुले आर्थिक सहयोग गरिरहनुभएको छ ,सहयोगीप्रति हामि धन्यवाद तथा आभार प्रकट गर्दछौं ।’

मोना आइईसीकी महिला उपाध्यक्ष एवम् राजकुमार निउरे बचाउ अभियान संयोजक पुर्णिमा पाइजा (आशा)ले राजकुमार निउरे बचाउ अभियानलाई विभिन्न देशहरुबाट सहयोग आउने क्रम जारी रहेको बताउनुभयो । निउरे बचाउ अभियानलाई प्राप्त सहयोग संस्थाको बेनीमा रहेको गरिमा विकास बैंकको खातामा जम्मा गरिएको जानकारी दिनुभयो ।

‘हत्या आरोपमा साउदी जेलमा बेकसुर सजाय भोगिरहनुभएका निउरेको घर फर्काउने अभियानलाई सहयोग आउने क्रम जारी छ’,अभियान संयोजक आशा पुनले भन्नुभयो । ‘मोना आइईसीको संयोजकत्वमा विभिन्न देशमा रहेका शाखाहरुले सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रम मार्फत आर्थिक सहयोग अभियान थालिएको हो । अभियानलाई अन्य देशहरुबाट पनि आर्थिक सहयोग आउने क्रम जारी छ ।’ संयोजक आशा पुनका अनुसार अभियानलाई मोना साउदी संगै मोना युके,मोना फ्रान्स ,मोना कतार तथा मोना अष्टे«लियाले सहयोग गरेका छन् ।

अहिलेसम्म अभियानलाइ मोना साउदीबाट एक लाख ८६ हजारसंगै मोना अष्ट्रेलियबाट दुई लाख पचास हजार ,मोना युकेबाट तीन लाख ,मोना फ्रान्सबाट पचास हजार र मोना कतारबाट एक लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको मोना आइईसीका कोषाध्यक्ष मुक्ती रोकाले जानकारी दिनुभयो । अभियानलाई अन्य देशमा रहेका शाखाहरुमा पनि आर्थिक सहयोग संकलन अभियान थालिएकाले सहयोग आउने क्रम जारी रहेको मोना आइईसीका महासचिव विक्रम कार्कीले जानकारी दिनुभयो ।

राजकुमार निउरेलाई घर फर्कान ठुलो आर्थिक सहयोग आवश्यक भएकाले सबैले सहयोग गर्न मोना आइईसीका महासचिव कार्कीले आग्रह गर्नुभयो । २०६८ जेठ २ गते साउदी अरबमा पुग्नुभएका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति)तिर्न नसक्दा जेलभित्रै हुनुहुन्छ ।

निउरेले कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा बस्नुपरेको हो । वस्तीका आफन्तले बीस लाख रुपैयाँ ब्लड मनि मागेका छन् । उनिहरुले ब्लड मनि पाएपछि निउरे नेपाल फर्कने कानुनी बाटो खुल्ने भएको छ । निउरेको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग जुटाउन अभियान चलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार