मराङमा सम्पन्न स्वास्थ्य शिविरबाट करिब तीन सय जनाले सेवा लिए

म्याग्दी ,आइतबार मंसिर २२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङमा शनिबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट करिब तीन सय जना लाभान्वित भएका छन् ।गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलाहरुलाई लक्षित गरेर शुक्रबार देखि शिविर आयोजना गरेको थियो ।

वडा न. ४ खिवाङ, वडा न. ६ मराङ र वडा न. ५ मल्कवाङका २९८ जनाले सेवा लिएका मराङ स्वास्थ्य चौकीका प्रमुख अहेव मोहन गर्बुजाले जानकारी दिनुभयो । १३७ जनालाई भिडियो एक्सरे सेवा दिइएको छ । पाठेघरमा मासु पलाएको तीन जना, पाठेघरको मुखमा मासु पलाएको एक जना, रेनल स्टोन भएका चार जना, गलगलादर स्टोन भएका दुई जनाको उपचार गरिएको छ ।

शिविरमा लमजुङ सामुदायिक अस्पतालका डाक्टर हेमा छन्त्याल, दरवाङ प्राथमिक उपचार केन्द्रका डाक्टर तिलक गौतम, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लोकनाथ पौडेल, मराङ स्वास्थ्य चौकीका इञ्चार्ज मोहन गर्बुजा, आरबाङ सामुदायिक स्वास्थ्य इकाइका अहेव रिना गर्बुजा, अनमी तिलकुमारी गर्बुजा र कर्मचारी खटकुमारी सुवेदीको टोलीले सेवा दिनुभएको थियो ।

स्वास्थ्य परिक्षण, परामर्श, भिडियो एक्सरे, निशूल्क शल्यक्रिया सम्बन्धी सेवा दिइएको थियो । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले जनजाती तथा महिलाको क्षेत्रमा बिनियोजन गरेको बजेटबाट शिविर सञ्चालन गरिएको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगरले भौगोलिक विकटता, आर्थिक र पारिवारिक कारणले सहर बजारका अस्पताल पुगेर सेवा लिन नसक्दा रोग लुकाएर बस्न बाध्य महिलाहरुका लागि शिविर सञ्चालन गरेको बताउनुभयो ।

“आर्थिक तथा ग्रामिण विकटताका कारण अस्पताल जान नसकेका विशेष गरेर महिलालाई लक्षित स्वास्थ्य शिविर संचालन गरिएको हो ,”अध्यक्ष पुन मगरले भन्नुभयो । कार्यपालिका सदस्य तिलकुमारी केसीले शिविरबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्नुका साथै स्त्रीरोग सम्बन्धी सचेतना अभिवृद्धी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार