धवलागिरीको ताकममा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

बेनी बुधबार पुस ०२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउपालिका–७ ताकममा सम्पन्न बृहत निशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरेको थियो ।

भौगोलिक बिकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुबिधाका लागि शिविर आयोजना गरेको क्लवले जनाएको छ । ‘भौगोलिक विकटता र आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीहरुलाई लक्षित शृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो’क्लबका अध्यक्ष नरेश श्रेष्ठले भन्नुभयो । ‘स्वास्थ्य शिविरबाट १२ सय जना बढीले सेवा लिएका छन् । शिविरमा संचालनमा आर्थिक तथा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।’

नाककान घाटीका २१०, हाडजोर्नी २७०, छाला तथा यौन रोगका १५०, पेट,छाती र मुटु रोगी ३००, दन्त सम्बन्धी २५० र २५० जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएका शिविरका संयोजक सन्दिप खत्रीले बताउनुभयो । २०० जनाको भिडियो एक्सरे गरिएको थियो । ताकम, मुना, लुलाङ, गुर्जा र मुदीबाट सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन शिविरमा आएका थिए । स्वास्थ्य परिक्षण, परामर्श र निशुल्क रुपमा औषधि समेत वितरण गरिएको शिविरका संयोजक खत्रीले जानकारी दिनुभयो ।

स्त्रीरोग विशेषज्ञ डा। सविता थापा, मेडिसिन तिर्थलाल उपाध्याय, हाडजोर्नी डाक्टर कृष्णबहादुर विष्ट, रोडियोलोजी डा। नवराज पौडेल, बालरोग डा। रासनी बास्ताकोटी, छाला तथा यौनरोग डा। सौरभ अर्याल, नाककान, घाटी डा। पुशेव्र शाह, र दन्तरोग टिकाराम गुरुङ सहित २३ जनाको टोलीले सेवा दिनुभएको थियो ।

शिविरको उद्घाटन गर्नुहुँदै संविधानसभाका सदस्य नवराज शर्माले लायन्सले दुर्गम भेगका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न शिविरको आयोजना गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । पैसा खर्च गरेर सहरबजार पुग्न नसक्ने सर्वसाधारणहरुले शिविरबाट फाइदा लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पैसाको अभावमा रोग पालेर बसेका दुर्गमका सर्वसाधारणहरुलाई शिविरबाट ठूलो राहत महशुष गर्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । सरकारले गर्नुपर्ने काम लायन्स क्लबले चन्दा सहयोग जुटाएर दुर्गम भेगमा शिविर सञ्चालन गर्नु आफैमा नमुना कार्य भएको उहाँले बताउनुभयो ।

क्लबका संस्थापक तथा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले दुर्गमका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन व्यक्तिगत खर्चमा चन्दा सहयोग जुटाएर शिविर सञ्चालन गरेको बताउनुभयो । शिविरबाट गरिब र विपन्नहरुले फाईदा पुगेको बताउनुभयो ।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रविन्द्र श्रेष्ठले सर्वसाधारणहरुलाई शिविरबाट फाइदन लिन अनुरोध गर्दै धौलागिरि गाउँपालिकाका सर्वसाधारणहरु मेडिकल कलेज पोखरामा उपचार गर्न आएमा १० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षता, अध्यक्ष पुनको स्वागत र क्लबका सचिव सन्दीप खत्रीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

ओमकुमारी शान्तिकोष सहआयोजक भएको शिविरको धौलागिरि जन युवाक्लब ताकम र स्थानीय आमा समुहले व्यवस्थापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार