अन्नपुर्ण शिक्षक महासंघद्धारा घाईते प्रअको उपचारमा करिब एक लाख रुपैयाँ सहयोग

म्याग्दी, शनिबार पुस ५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अगुवाईमा गाउँपालिकाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीबाट पुनको उपचारमा ९० हजार ९ सय ६५ रुपैयाँ सहयोग जुटाईएको हो ।

गत कात्तिक २७ गते बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयतर्फ जाँदै गर्नुभएकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरी सक्त घाईते बनाएका थिए । मणिपाल शिक्षण अस्पतालमा एक महिना लामो उपचार गराउनुभएकी पुनको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले सो सहयोग गरिएको शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष रमन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, सहयोग जुटाउन गाउँपालिकाभित्र रहेका ३६ वटै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीबाट आर्थिक सहयोग भएको छ ।

पुनको उपचारमा संकलन गरिएको सो सहयोग रकम शुक्रवार बेनीमा आयोजित एक कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मार्फत पुनकी दिदी गौमायाँ पुनलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा महासंघका अध्यक्ष पुन, सह–अध्यक्ष प्रदिप पुन, सचिब केदारबहादुर कार्की,अर्थ सह–सचिब सुकबहादुर गर्वुजा, कैलास माथि दोवाका प्रअ शिरबहादुर गर्वुजा लगायतले सहयोग रकम इकाईका प्रमुख मार्फत हस्तान्तरण गर्नुभएको थियो । यस अघि नेपाल राष्ट्रिय शिक्षक संगठनको अगुवाईमा पुनको उपचारमा म्याग्दीमा रहेका शिक्षक तथा विद्यालय कर्मचारीहरुले समेत सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार