ठेकेदार कम्पनी शर्मा युनाइटेडले पारिश्रमिक नदिएपछि मजदुर आन्दोलित

बेनी ,बुधबार पौष १६ गते ।
बेनी–जोमसोम–कोरला सडक निर्माणमा कार्यरत मजदुर आन्दोलित भएका छन् । राष्ट्रिय गौरबको आयोजना बेनी –जोमसोम सडक खण्ड अन्तर्गत गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक स्तरोन्नती निर्माणमा कार्यरत मजुदर आन्दोलित भएका हुन् ।

गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक खण्ड अन्तर्गत १९ किलोमिटर सडक निर्माणमा कार्यरत मजदुरलाई ठेकेदार कम्पनीले पारिश्रमिक नदिए पछि मजदुर आन्दोलित हुनु परेको सब कन्ट्याक्टर मध्यका कोम बहादर बुढा मगरले बताउनुभयो । ‘ठेकेदार कम्पनी शर्मा युनाइटेड जेबीले ६ महिना देखी काम गरेको पारिश्रमिक नदिएपछि काम बन्द गरी आन्दोलनमा उत्रन भएका हौं,’ सब कन्ट्याक्टर बुढाले भन्नुभयो । ‘पारिश्रमिक दिन ठेकेदार कम्पनीसंग पटकपटक अनुरोध गरे पनि ठेकेदारले पारिश्रमिक दिन आनाकानी गरेकाले न्यायका लागि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिन बाध्य भएका हौं । ठेकेदार कम्पनीले हाम्रो माग सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’

सडक निर्माणमा कार्यरत २ सय ५ जना मजदुरहरुलाई १ करोड १३ लाख रुपैयाँ बढी पारिश्रमिक भुक्तानी गर्न बाँकी रहेको सब कन्ट्याक्टर बेदबहादुर थापाले बताउनुभयो । ठेकेदारले काम गरेबापतको पारिश्रमिक नदिए पछि घरमा समस्या भएको सोही कम्पनीमा कार्यरत रोल्पाकी दिलकुमारी बुढा मगरले पिडा पोख्नुभयो । ‘घर जाने भनेको साथमा एक रुपैयाँ छैन् । ऋण खोजौं भने पनि साहुँलाई पहिलेकै तिर्न बाँकी छ,’ दिलकुमारीले व्यथा सुनाउँदै भन्नुभयो ।

मजदुरहरु कम्पनीको सहायक कार्यालयमा तालाबन्दी गर्नुका साथै मंगलबारदेखी पुर्ण रुपमा काम बन्द गरी आन्दोलनमा आएका नेपाल ट्रेड युनियन म्याग्दीका महासचिव अर्जुन रानाले बताउनुभयो । उहाँका अनुसार ६ महिनादेखी मजदुरहरुले तलब पाएका छैनन् । यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मजदुरको माग जायज भएको बताउनुभयो । मजदुरलाई पारिश्रमिक दिलाउन ठेकेदार कम्पनीसंग छलफल भइरहेको बताउनुहुँदै छिट्टै समस्याको समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार