बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

धिरन खत्री
म्याग्दी,शुक्रबार पौष १८ गते।
बेनी नगरापालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माण गरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् ।शुक्रबार बेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सरोकारवाहरुले नगरपालिकाले गुरुयोजना नवनाईकन हचुवाको भरमा बजेट विनियोजन तथा योजना छनोट गर्नाले दिगो विकासको लक्ष हासिल गर्न नसक्ने भन्दै योजनाबद्ध विकासमा जुट्न सुझाव दिएका हुन् ।

कार्यक्रममामा सहभागिहरले बजारक्षेत्रलाई मात्र नगरपालिका ठानेको, ग्रामिण सडकलाई डिपिआर विनै स्तरोन्नतीको काम थालेको, बजार क्षेत्रको यातायात ब्यवस्थापन गर्न नसकेको, अतिक्रमित सार्वजनिक जग्गालाई विस्थापन गर्न नसकेको गुनासो गरेका थिए । त्यसैगरी बजार क्षेत्रमा बालश्रमिकको समस्या बढेको, फोहोर ब्यवस्थापनालई चुस्त बनाउन नसकेको, बजारको सिसिक्यामरा, अब्यवस्थित तारलाई ब्यवस्थापन गर्न नसकेको, सार्वजनिक सुनुवाई कार्यक्तममा ब्यापक जनसहभागिता गराउन नसकेकोमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा उठेका गुनासोको जवाफ दिदै मेयर हरिकुमार श्रेष्ठले नगरपालिकाको गुरुयोजना नहुदाँ योजनाबद्ध विकास नभएको स्विकार गर्दै गुरुयोजना निर्माण अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । उनले विकास निर्माणलाई प्रभावकारी र दिगो बनाउन टोलसुधार समिति, वडाका जनप्रतिनिधि र कार्यालयको तर्फबाट समेत अनुगमनलाई प्रभावकारी बनाउन लागि पर्नेमा जोड दिए । कार्यक्रममा उपमेयर सञ्जुृ बरुवाले न्यायिक समितिमा आउने मुद्धाहरु मेलमिलापमार्फत टुंग्याएको बताईन । उनले सामाजिक विकृतिलाई न्युनिकरण लागि प्रशासन, प्रहरी, सामुदायिक प्रहरी, आमासमुह, युवा क्लवसंग साझेदारी गर्दै कार्यक्रम गर्ने बताईन ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले चालु बर्षको योजना कार्यान्वयनमा कार्यालय जुटेको बताउदै सेवाप्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कार्यालयले आवश्यक पहल थालेको समेत बताए ।
त्यस्तै नगरपालिका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईली, वडा ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बजारक्षेत्रको यातायात अब्यवस्थित तार ब्यवस्थापन र सार्वजनिकको जग्गाको ब्यवस्थापन गर्न आवश्यक पहल थालिएको जानकारी गराए ।

त्यस्तै वडा नम्वर २ का वडाअध्यक्ष हिराबहादुर थापा, ३ नम्वरका वडाअध्यक्ष पदम पुन र ४ नम्वरका वडाअध्यक्ष गोविन्दप्रसाद पौडेल लागयतले समेत सहभागिहरुले उठाएको जिगाशाको जवाफ दिएका थिए ।मेयर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इन्जियिनर विमलरञ्जन कार्कीले आर्थिक बर्षमा संचालित योजनाहरुको जानकारी गराए । कार्यक्रमको संचालन अधिकृत युवराज थापा र सहजीकरण पत्रकार सन्तोष गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार