राजपा नेपालले बोलायो महाधिवेशन तयारी समितिकाे बैठक

काठमाडौं,मंगलबार पौष २२ गते । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले महाधिवेशन तयारी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बसेको अध्यक्षमण्डल बैठकले महाधिवेशन तयारी समिति बैठक बोलाउने निर्णय गरेको हो ।अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोका अनुसार तयारी समिति बैठक आगामी शुक्रबार बस्ने निर्णय भएको छ । विभिन्न ६ मधेसवादी पार्टी मिलेर राजपा नेपाल घोषणा भएको थियो । ७ वैशाख २०७४ मा एकीकरण भए पनि अहिलेसम्म एकता महाधिवेशन हुन सकेको छैन ।

महाधिवेशन तयारी समिति संयोजक महन्थ ठाकुर छन् । तर, समिति बैठक नै नबस्ने भएकाले तयारी अघि बढ्न सकेको सकेको छैन । पार्टीकै नेताले राजपा अध्यक्षमण्डलको ‘सिन्डिकेट’का आधारमा चल्दै गरेको आरोपसहित महाधिवेशन माग गर्दै आएका छन् ।

पार्टी एकीकरण घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले एक वर्षमा महाधिवेशन गर्ने उद्घोष गरेका थिए । तर, एकीकरणको तीन वर्ष पुग्नै लाग्दा पनि अध्यक्षमण्डलको किचलोकै कारण महाधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन ।

अध्यक्षमण्डलमा महतो, ठाकुरका साथै महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा छन् । चक्रिय प्रणालीअनुसार प्रत्येक दुई महिनामा अध्यक्षमण्डल संयोजक उनीहरू आलापालो बन्दै आएका छन् । अध्यक्षमण्डलका ६ नेता छुटाछुटै पार्टी अध्यक्ष थिए ।

अध्यक्षमण्डल बैठकले आगामी ९ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ र ८ माघमा महोत्तरी बर्दिवासमा ‘मतदाता प्रशिक्षण कार्यक्रम’ गर्ने निर्णय गरेको छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य निर्वाचन संयोजनका लागि केन्द्रीयस्तरमा महतोको संयोजकत्वमा अध्यक्षमण्डल र राष्ट्रिय सभामा दुवै उम्मेदवार सदस्य रहने गरी तयारी समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश २ मा प्रदेशसभा संसदीय दलका नेता जितेन्द्र सोनल र राष्ट्रिय सभा सदस्य पदका दुवै उम्मेदवारलाई संयोजन जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार