अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा

सुरेन गुरुङ
नारच्याङ,बुधबार माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।

अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न. ४ मा पर्ने नारच्याङको बेशी गाँउमा माघ गतेसम्म महोत्सव र प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

महोत्सव तथा प्रतियोगिताको मञ्च व्यवस्थापन, खेलमैदान निर्माण, प्रचारप्रसार लगायतका तयारी पुरा भएको आयोजकले जनाएका छन् । स्टल र मञ्च निर्माण भइसकेको प्रचारप्रसार संयोजक कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

नारच्याङको अन्नपूर्ण युवा क्लव र गाउपालिका स्तरीय युवा तथा खेलकुद समितिले खेलमैदान, मञ्च तयार पारेका हुन् । गाउ र सार्वजनिक स्थलको सरसफाई गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

महोत्सव सुरु हुनुअघि मौलिक झाँकी सहितको ¥याली निकालीने भएको छ । महोत्सव स्थलमा कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी गरिने गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । स्थानीय उत्पादनको प्रर्दशनीका लागि निशूल्क स्टलको व्यवस्था गरिएको उहाँले बताउनुभयो । नेपाल टेलीकमले निशूल्क मोवाइलको सिम वितरण गर्ने भएको छ ।

वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने खेलकुद तथा सांस्कृतिक उपसमिति संयोजक ओमप्रकाश फगामीले बताउनुभयो । सबै प्रतियोगितामा सहभागि हुने गाउपालिका भित्रका ८ वटा वडाका खेलाडीहरु नारच्याङ पुगेका छन् ।

पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आर्थिक संयोजक आत्म तुलाचनले बताउनुभयो ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने छ । गाउपालिकाले महोत्सवका लागि पन्ध्र लाख र खेलकुद प्रतियोगितालाई दश लाख रुपैयाँ बिनियोजन गरेको छ ।

अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी पनि हुनेछ् । प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको लागि प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदीले बताउनुभयो ।

आठ वर्षअघि स्थानीयबासी तेज गुरुङको नेतृत्वमा विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान गरेका थिए । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।

‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा तयार पारिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार