बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन

सन्तोष गौतम
बेनी,बुधबार फागुन ०७ गते ।
बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् ।

बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका छन् ।

स्थानीय तह स्तरमा तामझामका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम, दृतीय, तृतीय हुने विद्यालयलाई पुरस्कारका साथै प्रोत्साहनको समेत व्यवस्था गरेका थिए । पालिका स्तरमा पुरस्कारको व्यवस्था हुदा उत्साहीत भएका खेलाडीहरु जिल्ला स्तरको प्रतियोगिता पुरस्कार बिहिन हुदा निराश भएको गुनासो गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राइले प्रतियोगिता उधारोमा सञ्चालन गर्नुपरेको बताउनुभयो । अहिलेसम्म बजेटको व्यवस्था नभएको उहाँले बताउनुभयो ।

प्रदेश स्तरको प्रतियोगितामा सहभागि हुने जिल्लाका खेलाडी छनौट गर्न एक हप्ता जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि र प्रजिअ लगायत कार्यालय प्रमुखहरुको बैठकले फागुन ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयको कार्यबिधि अनुसार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा समिति गठन भएको थियो । संयोजक केसीले बजेटका लागि प्रदेश सरकारमा प्रस्ताव गरिएको बताउनुभयो ।

बजेट आउने नआउने एकिन नभएकाले प्रथम, दृतीय र तृतीय हुने पालिकालाई पुरस्कारको व्यवस्थाका लागि बुधबार साँझ सम्म निर्णय हुन नसकेको बताउनुभयो । पाँच लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि स्थानीय तहहरुलाई पनि बजेट उपलब्ध गराउन प्रस्ताव गरिएपनि उनिहरुले समेत निर्णय गरेका छैनन् ।

संघीय सरकारले पालिकालाई राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि एक, एक लाख रुपैयाँका दरले बजेट पठाएको थियो । थप सात लाख रुपैयाँ बजेट बिनियोजन गरेर पालिका स्तरीय प्रतियोगिता सञ्चालन गरिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

पालिकाबाट ल्याइएका खेलाडीहरुको खाने बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहहरुलेनै गरेका छन् । म्याग्दीका छ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । भलिबल, कवड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो बिधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

छात्रा भलिबलमा अन्नपूर्ण गाउपालिका प्रथम र मालिका गाउपालिका दोस्रो भएका छन् । छात्र भलिबलको फाइनन अन्नपूर्ण र मंगला गाउपालिका बिच हुने रेफ्रि तेजेन्द्र बानियाले बताउनुभयो ।

कवड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम, मंगला गाउँपालिका दोस्रो र मालिका तेस्रो भएका छन् । छात्रातर्फ बेनी नगरपालिका प्रथम, अन्नपूर्ण दोस्रो र मालिका तेस्रो भएका छन् । एथलेटिक्सतर्फ ७ वटा खेलको फाइनल हुदा बेनी नगरपालिकाले अग्रता कायम गरेको छ । बेनी नगरपालिकालाई मंगला गाउपालिकाले पछ्याएको छ ।

माध्यमिक शिक्षा परिक्षा ९एसइई० र वार्षिक परिक्षाको मुखमा स्थानीय तह, जिल्ला र प्रदेश स्तरमा खेलकुद प्रतियोगिता आयोजना गरिदा पठनपाठनमा असर परेको शिक्षक तथा प्रअहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार