लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु

बेनी ,शुक्रबार फागुन ०९ गते । मंगला गाँउपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवनको बिहीबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । मंगला गाउँपालिका मार्फत भवन निर्माणका लागि साजन निर्माण सेवाले ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

९६ लाख रुपैयाँ लागत अनुमान गरिएको चार कोठे भवन आगामी असार महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको निर्माण कम्पनीका सञ्चालक लोक खड्काले बताउनुभयो । बचेको रकमबाट पनि माथिल्लो तलामा चार कोठ थप गर्ने गाउपालिकाको तयारी छ ।

भवन निर्माणका लागि जग्गा खरिद गर्न क्याम्पसले अभियान चलाएर ८५ लाख रुपैयाँ जुटाएको थियो । ५६ लाख रुपैयाँमा लाम्पाटामा तीन वर्षअघि खरिद गरिएको ३३ रोपनी जग्गमा क्याम्पसको पूर्वाधार निर्माण सुरु गरेको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण हुन लागेको हो । २०६६ सालमा स्थापना भएको क्याम्पस बाबियाचौर स्थित मंगला माविको भवनबाट सञ्चालन हुदै आएको छ । क्याम्पस खुलेको दश वर्षपछि आफ्नो पूर्वाधार बनाउन लागेको हो ।

शिक्षा शास्त्र संकायमा स्नातक तहको पठनपाठन हुने क्याम्पसमा ९० जना विद्यार्थी रहेका क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । अर्थशास्त्र, गणीत, अंग्रेजी र नेपाली विषयको पठनपाठन हुने क्याम्पसमा ८० प्रतिशत बढी विद्यार्थी छात्रा छन् ।

शिलन्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य थापाले ग्रामिण क्षेत्रका शैक्षिक संस्थाको पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताउदै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित बन्नुपर्ने बताउनुभयो । सांसद थापाले समुदायको माग र गाउपालिकाको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट भवनलाई बजेट बिनियोजन गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष चन्द्रप्रसाद बुढाथोकी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेलको अध्यक्षता, प्राध्यापक चन्द्र रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख पितमबहादुर खत्रीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार