मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )

बेनी ,विहिबार फागुन १५ गते ।
नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमार थापा मगरले शुभकामना व्यक्त गर्नुभयो ।उहाँले राज्यको हरेक कालखण्डमा मगर समुदायको योगदान महत्वपुर्ण रहेको बताउनुभयो ।


मौलिक जातिय भाषा ,कला सस्कृती पहिचान तथा इतिहास संरक्षण संगै जगेर्ना गर्न सबै मगर एक हुनुपर्नेमा जोड दिनुभयो । हकअधिकार र राज्यका हरेक क्षेत्रमा समान सहभागिता ,समावेशीता सुनिश्चितता कायम गर्न मगर समुदाय संगै पछाडी परेका र पारिएका आदिवासी जनजाती तथा विपन्न ,दलित समुदायमा राजनितिक चेतना हुन आवश्यक रहेको बताउनुभयो । मगर समुदाय लगायत विभिन्न कालखण्डमा त्याग र बालिदानबाट प्राप्त हक अधिकार संस्थागत गनुपर्नेमा जोड दिनुभयो । साथै सचिव थापा मगरले आफ्नो हकअधिकारमा सहिष्णुताको आवश्यक रहेको बताउनुभयो ।


‘जंगबहादुरको पालामा ल्याइएको मुलुकी ऐनले मगर समुदाय संगै आदिवासी दलित ,तथा पछाडी पारिएका दलित र विपन्न समुदायलाई दवाउने,विभेदमा पार्नुका साथै विभिन्न जातिय ,बर्गिय लगायत विभिन्न कालखण्डमा विभाजन गरी देशको शासकीय व्यवस्थाको पहुँचमा पुग्नबाट बन्चित गराइएको छ ’, सचिव थापा मगरले भन्नुभयो,‘त्यसैले मगर समुदाय संगै आदिवासी जनजाती लगायत उत्पिडित समुदायले इतिहास जान्न आवश्यक छ ।’ बेनपा –७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदै मगर समुदायको मौलिक कला संस्कृती संरक्षण तथा जगेर्ना गर्नका लागि वडाले सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल मगर संघ,म्याग्दीकी अध्यक्ष डकमाया पाइजा ,निवर्तमान अध्यक्ष मनप्रसाद थजाली र जिल्ला सैनिक बोर्ड म्याग्दीका प्रमुख क्याप्टेन सोमबहादुर थापा मगरले म्याग्दी मौलिक थाली नाचको उद्गम स्थल भएको बताउनुहुँदै यसको संरक्षण र प्रवद्र्धन गर्न सबैले जोड दिनुपर्ने बताउनुभयो ।


उहाँहरुले एकात्मक मल्लकालिन राज्य व्यवस्थाका कारण म्याग्दी लगायत बागलुङ र पर्वतमा मगर समुदायको भाषा लोप बनाएको स्मरण गराउँदै अग्रजहरुको त्याग, संघर्ष र बलिदानले नेपालको अझै विभिन्न भागमा भाषा कला संस्कार संस्कृती र इतिहास जिवित रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ ,बेनपाका अध्यक्ष नरबहादुर थापा मगर, नेपाल मगर बेनपा–८ इकाई अध्यक्ष ,तथा वडा सदस्य हिराबहादुर पुन , विद्यार्थी संघकी केन्द्रीय सदस्य रश्मि रोका मगर लगायतले बोल्नुभएको थियो ।

कार्यत्रममा वडा इकाई अध्यक्ष रमेश फगामी मगरले मगर समुदायको इतिहास लगायतका बारेमा जानकारी गराउनुभएको थियो । इकाई सचिव सुवेदार कृष्णबहादुर पुन मगरको संचालनमा सम्पन्न कार्यक्रममा सोरठी नृत्य संगै विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार