एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित

बेनी ,मंगलबार चैत ०४ गते ।
आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ ।

परिक्षामा १ हजार ११० जना छात्रा र १ हजार ८७ जना छात्र सहभागी हुने इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन फाराम भरेका मध्ये १४ जना परिक्षा दिनबाट बञ्चित भएका छन् । विवाह गरेर पढाई छाडेका, विदेश गएका, हाजिर पुरा नभएका र विविध कारणले विद्यालय छाडेका कारण उनीहरु परिक्षामा सहभागी हुन नपाउने भएका हुन् । परिक्षालाई मर्यादित , अनुशासित तथा व्यवस्थित बनाउनका लागि सबै तयारी पुरा भएको थापाले बताउनुभयो ।

परिक्षामा सहभागी हुने विद्यार्थीहरुमध्ये १७ जना ग्रेटबृद्धिका परिक्षार्थी छन भने प्राविधिक धारतर्फ ९ जना र खुला विद्यालयबाट १६ जना परिक्षार्थी सहभागी हुनेछन् । एक खुल्ला विद्यालय सहित ७१ वटा विद्यालयबाट परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई जिल्लाका विभिन्न ९ वटा परिक्षा केन्द्रबाट परिक्षामा सहभागी गराईनेछ । धवलागिरि गाउँपालिकाको हेम मावि सिवाङ, मालिका गाउँपाकिलाको जनप्रिय मावि दरबाङ, मंगलाको मंगला मावि बावियाचौर, अन्नपूर्णको मुक्तिमार्ग मावि घार, रघुगंगाको मुक्तिधाम मावि भगवती र बेनी नगरपालिकाको, धौलागिरी मावि सिंगा, बेनी सामुदायिक मावि, प्रकाश मावि र न्यु वेष्ट प्वाइन्ट आवसीय माविमा परिक्षा केन्द्र तोकिएको छ ।

परिक्षा सञ्चालनको लागि केन्द्राध्यक्ष चयन गरि आबश्यक परामर्श संगै आबश्यक सामाग्री सहित परिक्षा केन्द्रमा परिचालन हुन सुरु भैसकेको छ । निर्देशिका बमोजिम केन्द्राध्यक्ष तोकिएको इकाइका प्रमुख थापाले बताउनुभयो । परिक्षा केन्द्र तोकिएको विद्यालयमा मावि तहका स्थायी शिक्षक प्रअ रहेको खण्डमा प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको इकाइले जनाएको छ । बेनी सामुदायीकमा सोहि विद्यालयका मावि तहका स्थायी शिक्षक भिम घर्ति र न्यु वेष्ट प्वाइन्ट आवसीय मावि परिक्षा केन्द्रमा पौलत्स्य माविका मावि स्थायी शिक्षक शिबप्रसाद शर्मालाई केन्द्राध्यक्ष तोकिएको इकाइले जनाएको छ । परिक्षा सञ्चालनको लागि परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पु¥याईसकिएको छ भने सम्बन्धित क्षेत्रका प्रहरी चौकीमा प्रश्नपत्र पु¥याउने काम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार