म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै ः घर निर्माण गर्ने क्रम तिब्र

धु्रबसागर शर्मा
म्याग्दी,शुक्रबार चैत ०७ गते ।

हिमाली जिल्ला म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । बेनी नगरपालिका ७ बेनी बजारका युवा उद्यमी अर्बिन श्रेष्ठले पहिलोपटक यहाँ संचालन गरेको इन्टरलक इँटा उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको हो ।


करीब रू. सात लाखको लगानीमा २०७६ भदौ २० गतेदेखि सञ्चालन भएको उद्योगबाट हालसम्म ४० हजार इँटा उत्पादन भई विक्री भइसकेको छ । कारोबार झण्डै रू. १५ लाख रहेको उद्योग संचालक श्रेष्ठले जानकारी दिए ।
बालुवा, सिमेन्ट र माटोको प्रयोगबाट निर्माण गरिने इँटा घर निर्माणमा सबै दृष्टिकोणले राम्रो रहेको राष्ट्रिय पुननिर्माण प्रधिकरण आवास पुनर्निमार्ण कार्यक्रम म्याग्दीका इन्जिनियर शंकर दासले जानकारी दिए ।


इँटा उद्योग सञ्चालनका लागि रू. तीन लाख ८० हजार मेशिन खरीदमा लागेको र बाँकी ट्रष्ट निर्माणमा गरी करीब रू. सात लाख खर्च भएको सञ्चालक श्रेष्ठले बताए । छिटोछरितो, आकर्षक, भूकम्प प्रतिरोधी र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि इँटा निकै उपयोगी रहेको घर निर्माण गर्ने कालीगड बेनी नगरपालिका ५ पुरण्यका यामबहादुर दर्जीले बताए ।

इन्टरलक इँटाबाट नै एउटै गाउँमा ६ वटा घर निर्माण गरेका कालीगड दर्जीका अनुसार यो इँटाबाट घर निर्माण गर्दा प्लास्टर गर्नु नपर्ने, जाडोमा तातो र गर्मीमा चिसो हुने र छिटोछरितो घर निर्माण गर्न सकिने उनको भनाइ छ । उनले इन्टरलक इँटाले ६ दिनमा नै घर निर्माण गर्न सकिने जानकारी दिए ।


इँटा उत्पादन हुनुपूर्व नै माग आउने गरेकाले मागअनुसार पूर्ति गर्न नसकिएको उद्योग संचालक श्रेष्ठले बताए । रातो इँटाभन्दा तीन भाग ठूलो इँटाको मूल्य प्रतिइँटा रू. ५० देखि ५५ सम्म पर्ने बताइएको छ ।


सो उद्योगमा अहिले चार जनाले रोजगारी पाएका छन् । अहिले दैनिक ३ सय इँटा उत्पादन भइरहेको छ । इँटाको गुणस्तर मापन भइसरकारी प्रयोगशालाको प्रतिवेदन प्राप्त भैसकेकाले जिल्लाका स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा इँटा प्रयोग क्रम बढेर गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार