अन्नपूर्ण गाउपालिकाको तातोपानी कुण्ड बन्द

बेनी,शुक्रबार चैत ०७ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ ।

अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित गाउपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई आकलन गर्दै अर्को ब्यवस्था नहुँदा सम्मका लागि पर्यटकीय स्थल भ्रमणमा रोक लगाउने र तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको हो ।

भुरुङ्ग, पाउद्धार, रातोपानी र दोवाको सेकार्कु तातोपानी कुण्डमा स्नानका लागि बन्द गराउने निर्णय कार्यान्वयनका लागि ठेक्का लिएका ब्यवसायीहरुलाई शुक्रबारनै पत्राचार गरिएको गाउपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

पर्यटकीय स्थल पुनहिल भ्रमणका लागि पनि रोक लगाउने निर्णय भएको छ । यसैगरी कुनै पनि मेला, महोत्सव सञ्चालन नगर्ने निर्णय समेत भएको छ । विदेशी नागरिक र धेरै ठाउँका मानिसहरुको जमघट हुने पर्यटकीय स्थल र तातोपानी कुण्डहरुमा भिड लाग्छ ।

कुण्ड र पर्यटकीय स्थलमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै सतर्कताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य कार्यालयको परामर्शमा यस्तो निर्णय गरिएको आचार्यले बताउनुभयो ।

यसअघि बेनी नगरपालिका–४ सिंगाको तातोपानी कुण्ड बन्द गराउने निर्णय भएपछि बिरामीको अन्नपूर्ण गाउपालिकाका तातोपानी कुण्डमा चाप बढेको थियो । रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामीहरु आउँछन् ।

सबै कुण्डहरु बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले मेला, महोत्सव, सभा, समारोह आयोजना गर्न बन्द गराएको छ । कोरोनाबाट जोगिन सतर्कता अपनाइएको प्रअिज ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार