जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्

म्याग्दी ,आइतबार चैत ०९ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित  सरकारी कार्यालयहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सामाजिक संजाल मार्फत कोरोनाबाट बच्न सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले गलत समाचार र हल्लाको पछि नलाग्न पनि सुझाव दिनुभएको छ ।

जिल्ला प्रशासन, मालपोत लगायत कार्यालय र स्थानीय तहहरुले कार्यालय खोलेपनि अर्को सूचना जारी नभएसम्मका लागि समान्य प्रकृतिका सेवा स्थगित गरिएको जनाएका छन् ।सेवाग्राहीको भिडभाडका कारण कोरोना फैलने संक्रमणलाई मध्यनजर गर्दै सरकारको निर्णय अनुसार दैनिक रुपमा प्रवाह हुदै आएका नागरिकता प्रमाणपत्र, राहदानी, पेन्सन तथा अन्य सिफिरिस लगायत कार्यहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

विपद् र स्वास्थ्य संग सम्बन्धित बाहेकका सेवाहरु स्थगित भएका हुन् । यसैगरी अन्नपूर्ण गाउँपालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाका तातोपानी कुण्ड र पर्यटकीय स्थल भ्रमणमा रोक लगाइएको जनाएको छ ।

अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले कोरोनाबाट जोगिन व्यक्तिगत सरसफाईमा ध्यान दिन र सतर्कता अपनाउन सूचना मार्फत आग्रह गर्नुभएको छ ।

गरिमा विकास बैंकको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले नेपाल राष्ट्र बैंकले जारी गरेको सुचना अनुसार बैंक क्षेत्र बन्द नहुने जानकारी दिनुभयो । उहाँले विद्युतीय माध्यमबाट कारोबार गरेमा बैंकको शाखा सम्म पुग्न नपर्ने बताउनुभयो । कोरोनाबाट जोगिने उपायको बारेमा जनचेतनामुलक गतिबिधि हुन थालेका छन् । बेनी नगरपालिकाको वडा न. ८ ले कोरोनाको कारण, लक्ष्यण र बच्ने उपाय सहितको सन्देशमूलक पर्चा वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार