पर्यटकीय स्थल सोलेडाँडामा अस्थाई चेकपोष्ट स्थापना,आवतजावतमा रोक

बेनी ,विहिबार चैत १३ गते ।
म्याग्दी र बागलुङ्ग सिमाना स्थित पर्यटकीय स्थिल सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको समन्वयमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको अस्थाई चेक पोष्ट स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।


लकडाउनको समयमा पर्यटकीय स्थल सोलेडाँडामा घुम्न जाने र दुई जिल्ला आवतजावत हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजरगरी अस्थाई चेकपोष्ट स्थापना गरिएको अध्यक्ष रोका मगरले बताउनुभयो । अध्यक्ष रोका मगर र ईलाका प्रहरी कार्यालय दरबाङ्गका प्रहरी निरिक्षक राजकुमार अधिकारीको उपस्थितीमा सो चेकपोष्ट स्थापना गरिएको हो ।


‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) सर्न र भित्रन नदिन जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको समन्वयमा बागलुङ्गको तमानखोला गाउँपालिका र म्याग्दीको मालिकाको सिमानामा स्थित पर्यटकीय स्थल सोलेडाँडामा लकडाउन खुल्ला नहुँदा सम्मका लागि अस्थाई चेकपोष्ट स्थापना गरिको हो,’ अध्यक्ष रोका मगरले भन्नुभयो , ‘लकडाउन खुल्ला नहुँदा सम्म दुई जिल्ला आवतजावतमा रोक लगाइएको छ । यो विषम परिस्थितीमा अत्यावश्यक बाहेक आवतजावत बन्द गरिदिनहुन सबैलाई अनुरोध गर्दछु ।’

अस्थाई चेक पोष्टमा नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी सात जनाको टोली खटाइएको छ । पर्यटकी स्थल सोलेडाँडा तमानखोला गाउँपालिकाको लाम्मेला र मालिका गाउँपालिका –४ ओखोरबोटमा पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार