बम दिदीबहिनी भन्छन् : दोषी प्रमाणित गरे जेल जान तयार छौँ

काठमाडौँ मंगलबार माघ १४ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले दाबी गरेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनीहरूले आफूलाई मानव अधिकारकर्मीले चरित्र हत्या गर्ने गरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्, ‘निर्मला मेरी साथी हुन् । यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ ।’

प्रहरी अनुसन्धानले आफूहरूलाई दोषी साबित गरिन सकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार सङ्गठनको नामबाट चरित्र हत्या गर्ने गरी आफूहरूलाई हत्याको मतियार भन्दै प्रतिवेदन ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन् ।

उनले भनिन्,‘नेपाल मानव अधिकार सङ्गठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे।’

अर्यालले आफूहरूसँग एक वचन पनि नसोधेको उनले जिकिर गरिन् । उनले भनिन्, ‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरूलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् रु मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरूले बुझ्नसमेत चाहेनन् ।’

आफ्नो प्रतिवेदनमा दाबी गरेको कुरालाई सार्वजनिक रूपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार सङ्गठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाई छ ।

‘उनीहरूको प्रतिवेदन सार्वजनिक भएपछि हामी बहिष्कृत, अपमानित र नाटकीय सामाजिक जीवन बिताउन बाध्य भएका छौँ । हाम्रो पढाई छुटेको छ, सामाजिक बेइज्जती भएको छ । आफन्त र विद्यालयका साथीहरूले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रूपमा हेर्ने गर्न थालेको छन् । उक्त झुटो प्रतिवेदनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ’, रोशनीले भनिन्, ‘उनीहरूको प्रतिवेदनले गर्दा हामीमाथि परेको शारीरिक, मानसिक र सामाजिक क्षतिको क्षति पूर्ति दिलाइदिन अनुरोध गर्दछु ।’

पत्रकारले उक्त दिन निर्मला तपाईँको घरमा आउँदा के–के कुरा भयो रु त्यो दिनको बारेमा केही बताईदिनुहोस भनेर सोधेपछि रोशनीले भनिन्, ‘त्यो दिन निर्मला मेरो घरमा आएकी थिई । होम वर्क गरेर फर्किएकी हो । ऊ आउँदा हातमा ग्रिज लागेको थियो । साबुन पानीले धो भनेँ, अनि हामीबिच पढाई सम्बन्धी कुरा भयो ।’

प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरूलाई दुई पटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्, ‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौँ । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्‍यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’

प्रहरीले आफूहरूको मोबाइलको कल डिटेल पनि चेक गरेको र एक महिनासम्म दिदीको मोबाइल प्रहरीको नियन्त्रणमै राखेको बताउँदै कुनै पनि कोणबाट घटनामा आफूहरूको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन् ।

अनुसन्धानका लागि काठमाडौँबाट अहिलेसम्म प्रहरीको ७ टोली कञ्चनपुर गइसकेको सुनाउँदै उनले आफूहरू दोषी भएको भए प्रहरीले किन प्रमाणित नगरेको त भन्दै प्रश्न गरिन् ।
कार्यक्रममा दिदी बबिता बमले आफूहरू दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन् । उनले थपिन्,‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो ।

इन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटो छन् । उनले झुटो कुरा लेखेर हाम्रो बदनाम गरे । एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौँ ।’

बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रूपमा आफूहरूको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिइन् ।

साँचो कुरा के हो रु त भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्,‘कञ्चनपुरमा गएर सोध्नुहोस् । छरछिमेकलाई थाहा हुन्छ ।’ आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘निर्मला हाम्रो घरमा एक÷दुई चोटि आएकी हुन् । तर, म राम्रोसँग चिन्दिन ।’

त्यस्तै कार्यक्रममा रोशनी र बबिताकी आमा इन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरूको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन् । उनले भनिन्,‘निर्मला पनि मेरी छोरी हुन् । उनले न्याय पाउनुपर्छ । दोषी पत्ता लगाउनुपर्छ ।’ annapurnapost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार