बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन

प्रताप बानियाँ
म्याग्दी, शनिबार माघ ५ गते । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ ।

साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम बढ्दै गैरहेको छ । तर, म्याग्दीका एक युवाले भने शुक्रबार आफ्नो जन्मदिन म्याग्दी बालगृहका बालबालिकाहरुसँग बसेर मनाएका छन् । बेनी नगरपालिका–५, डडुवाका सबिन भण्डारीले १९औं बसन्तमा प्रवेश गरेको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन मनाएका हुन् ।

नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकालाई भण्डारीले तीनतीन वटा कापी तथा कलम र एकएक वटा बिस्कुट वितरण गरेर जन्मदिन मनाएको बताए । ठूलो खर्च गरेर जन्मदिन मनाउनुभन्दा स–साना बालबालिकाको अध्ययनलाई सानो भए पनि सहयोग पुगोस् भनेर आफूले १२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन मनाएको उनले जानकारी दिए ।

बालबालिकालाई कापीकलम र बिस्कुट बाँडेर जन्मदिन मनाउन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको भण्डारीको भनाइ छ । नेपाल बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतको विशेष उपस्थितिमा उनले बालबालिकालाई कापीकलम वितरण गरेका थिए । कार्यक्रममा बालगृहका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

बालगृहको तर्फदेखि सभापति महत र बालबालिकाले भण्डारीलाई जन्मदिनको शुभकामनासहित पुष्पगुच्छा उपहार दिएका थिए । म्याग्दी बालगृहमा रहेका आफ्ना बाबुआमा गुमाएका तथा सडक पेटीका बालबालिकाहरुलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार