औलामा खानेपानी आयोजना निर्माण

बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले उद्घाटन गर्नुभयो ।

७० लाख ४६ हजार १६९ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट औला गाउँका ५८ घरधुरी लाभान्वित भएका परियोजनाकी गाउँपालिकाका संयोजक कमला शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना निर्माणका लागि स्थानीयबासीले १९ लाख तीन हजार २७० रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

डेढ वर्षअघि आयोजना निर्माण सुरु भएको थियो । यो आयोजनाको मुहान डिल्लीबाङमा छ । ५८ घरमा निजीका साथै एक वटा सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर पुनले जानकारी दिनुभयो ।

स्थानीय शिक्षक थमबहादुर पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा उपभोक्ता समितिका सचिव राममाया पुनले आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । परियोजनाका इञ्जिनियर इन्द्र चन्द्ले प्राबिधिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संयोजक शर्माले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, ३ नम्बर वडाका अध्यक्ष हेमबहादुर पुन, परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट लगायत उपस्थित हुनुभएको थियो । परियोजना मार्फत मालिका गाउँपालिकामा ९ वटा खानेपानी आयोजना निर्माण भएका छन् ।

घरघरमा शुद्ध खानेपानीको सुबिधा भएपछि औलाबासीलाई सुबिधा भएको छ । यसअघि सार्वजनिक धारा, पँधेरा, कुवा र खोल्साको पानी उपभोग गर्नुपर्ने बाध्यता थियो । पानीको जोहो गर्नुपर्ने समय र श्रमको बचत भएको छ । दुषित खानेपानीका कारण देखिने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार