क्षत्री समाज म्याग्दीको १३औं वार्षिक साधारणसभा

बेनी आइतबार फागुन १२ गते । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीको शनिबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सबै जातजातिको सहकार्यबाट नै समाज विकासले गति लिने भएकाले एक भएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले समाजमा सबै जातजातिका बिचमा एकता र सद्भाव कायम गरी समाज रुपान्तरणका लागि मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा क्षत्री समाज धौलागिरी अञ्चल समन्वय समितिका अध्यक्ष रुद्रबहादुर महत, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, निवर्तमान अध्यक्ष अमृतदेवी बानियाँ, पूर्व अध्यक्ष क्या. मिनबहादुर कार्की, क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की, म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र क्षत्री महिला समाजका जिल्ला अध्यक्ष भावना पौडेलले सबै जातजातिसँग सहकार्य गरेर समाजको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिएका थिए ।

समाजसँग हाल कुल एक करोड ४३ लाख रुपैयाँ बराबरको भवन तथा घडेरीका साथै भाँडावर्तनसहित जिन्सी सामानहरु रहेको छ भने २७ लाख ८९ हजार ऋण रहेको छ । समाजले महायज्ञको आयोजना गरी त्यसबाट सङ्कलित रकमले बेनीको सङ्गमचोक नजिकै जग्गा खरिद गरी समाजको आफ्नै भवन बनाएको छ । साधारणसभामा समाजका कोषाध्यक्ष बालबहादुर महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा समाजको विधान संशोधनका लागि सल्लाहकार सन्तोष रावलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन उपसमिति बनाइएको छ । कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय स्वर्णपदक विजेता निर्मल कटुवाल, प्रथम मिस म्याग्दी प्रतियोगितामा उत्कृष्ट हुने सुस्मिता बानियाँ र एस्पिला बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रम क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्णबहादुर बानियाँको स्वागत र सचिव देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार