बिमको लिफ्ट खानेपानी आयोजनाको अनुगमन

बेनी सोमबार माघ २१ गते । म्याग्दीको मालिका गाउँपालीका -७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ ।

मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण गरेको हो ।


गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, परियोजनाका स्वास्थ्य तथा सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत वुद्धिराम उपाध्याय , वडा अध्यक्ष रेशम जुक्जाली (सुबिन), गाउँपालिकाको अनुगमन समितिका सदस्य तथा वडा न। १ का वडा अध्यक्ष टंक पुन, नायव सुब्बा पूर्णप्रसाद शर्मा लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भएको छलफलका क्रममा आयोजनाको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुक्जाली र सचिव नरसिङ पाईजाले भौतिक, आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२२ किलोवाट क्षमताको सोलार जडान गरेर बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको रिजर्भ टंकीमा पुराएर नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घर तथा ८ वटा विद्यालय तथा सार्वजनिक स्थानमा धारा जडान गरेर वितरण गरिएको छ ।

सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको वडा अध्यक्ष रेशम जुक्जालीले बताउनुभयो । अनुगमन समितिका संयोजक उपाध्यक्ष बिटालुले समितिको सिफारिसको आधारमा अन्तिम किस्ता भुक्तानी गरिने र फागुन १४ गते उद्घाटन गरिने जानकारी दिनुभयो ।

एक करोड ४३ लाख एक हजार १७३ रुपैयाको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माण गर्ने गाउँपालिका र उपभोक्ता समितिबिच सम्झौता भएको थियो । मालिका गाउँपालिकामै पहिलो पटक लिफ्ट प्रबिधिको आयोजना निर्माण भएको हो ।

नेपाल सरकार, फिनल्याड सरकार र गाउँपालीकाको अनुदानका साथै आयोजना निर्माणका लागि उपभोक्ताहरुले पनि श्रमदान गरेका छन् ।

२ वटा ईन्टेक, ८ वटा पानी संकलन टंकी, ११९ धारा र ९ हजार ९०९ मिटर पाईपलाईन रहने परियोजनाले जनाएको छ । एक वर्ष अघि सरसफाईयुक्त घोषणा भएको बिमको सो बस्तीमा खानेपानी अभाव प्रमुख समस्याको रुपमा रहेको थियो ।

४१६ घरधुरीको बसोबास रहेको बिमको बाईन्दफाँटमा दुई वर्षअघि एक घर एक धारा सहितको आयोजना निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार