मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

सन्तोष गौतम आइतबार फागुन ५ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् ।

शिविरमा जिल्ला प्रशासन कार्यालयको टोलीले ७० वटा नयाँ र १३ वटा प्रतिलिपि नागरिकताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले ७७ जनाको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरणको सेवा दिएका छन् । जिल्ला निर्वाचन कार्यालयको टोलीले ५७ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् ।

सोही शिविरको अवसरमा गाउँपालिकाले अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ५१ जना जेष्ठ नागरिक र चार जनालाई अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको छ ।

मराङकी ७६ वर्षीया नरिमा पुनलाई गाउँपालिकाका अध्यक्ष थमसरा पुन, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढा, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत शर्मा र वडा अध्यक्ष राजाराम शर्माले जेष्ठ नागरिक परिचयपत्र उपलब्ध गराउनुभएको थियो ।

शिविरमा मराङ र मल्कवाङका बासिन्दाहरुले सेवा लिएका थिए । गाउँपालिकाले सञ्चालन गरेको योजना सम्झौता, अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धी शिविर भने आइतबार सम्म जारी रहनेछ् ।

मराङ र मल्कवाङमा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाको वडामै सम्झौता गर्न घुम्ति शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई लक्षित गरेर एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लमसुङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । अन्नपूर्ण गाउँपालिकाको शिखमा पनि शिविर सञ्चालन गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार