वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सांसदहरुको असन्तुष्टि

काठमाडौं विहिबार फागुन ९ गते । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग आक्रोश पोखे ।

लेखा समिति

वाईडवडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयबारे अनुगमन नभएको, सो क्रममा उपसमितिलाई झुटा विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस नगरिएको, चिनी लगायत सर्वसाधारणको दैनिक उपभोग्य सामानमा भइरहेको कार्टेलिङमा चासो नदेखाएको भन्दै सदस्यहरुले सभापतिको कार्यशैलीप्रति असन्तुष्टी जाहेर गरे । उनीहरुले प्रभावकारी ढंगले काम नगर्ने हो भने समिति खारेज गर्न माग गरे ।

समिति सदस्य प्रेमबहादुर आलेले समितिको निर्देशन कार्यान्वयन नगर्ने सम्बन्धित मन्त्रालयलाई बोलाई छलफल गर्ने काम हुन नसकेको गुनासो गरे । उनले कार्यान्वयन पक्ष फितलो हुँदै जादा समितिको अस्तित्व नरहने भएकाले खारेज गर्न माग गरे ।

उनले वाईडवडी प्रकरण अध्ययनको क्रममा उपसमितिलाई झुठा विवरण उपलब्ध गराउने निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस गर्नुपर्ने बताए । समिति सदस्यहरु लेखराज भट्ट र ह्दयेश त्रिपाठीले समितिको निष्कर्षलाई कार्यान्वयन गराउन स्पष्ट मापदण्ड बनाउनुपर्ने, समसामयिक विषयमा छलफल गरि आवश्यक निर्देशन गर्नुपर्ने भन्दै सभापतिको गम्भीर ध्यानाकर्षण गराए ।

समिति सचिव डाक्टर रोजनाथ पाण्डेले गुठी जग्गा हिनामिना, कोशी करिडोरमा विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको प्रशारण लाईन टेण्डर आव्हान,तारागाउँ जग्गा भाडा र शेयरको पुनरमूल्याँकन लगायत बारेमा उजुरी परेको जानकारी गराए । उनले फोर जी एलटी टेण्डरमा अनियमितता भएको उजुरी परेकाले सो सम्बन्धी कागजात माग्न समितिले ४ पटक पत्राचार गरे पनि नेपाल टेलिकमले उपलब्ध नगराएको बताए ।
छलफलमा अधिकांश सदस्यहरुले झुठा विवरणका कारण वाईडवडी विमान खरिद प्रकरणको अध्ययन गर्ने क्रममा समितिको साख गिरेको भन्दै गलत विवरण उपलब्ध गराउनेलाई कारवाहीको सिफारिस गर्न सुझाएका थिए । साथै समितिमा प्राप्त उजुरीबारे छलफल गरि आवश्यक निर्देशन गर्न पनि उनीहरुले माग गरे । राटोपाती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार