ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

बेनी बिहिबार फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो ।

६५ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट सिस्नेरी र खवाङका ५३ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले जानकारी दिनुभयो । २०७४ माघ ३ गतेदेखि सुरु भएको आयोजना निर्माण कार्य शुक्रबार सकिएको छ ।

कुवाँ, पधेरा र खोल्साको दुषित पानी उपभोग गर्दै आएका स्थानीयबासी घरघरमै नियमित खानेपानी उपलब्ध भएपछि खुसी भएका छन् । स्थानीय एउटा सामुदायिक विद्यालयमा पनि बालमैत्री सार्वजनिक धारा निर्माण गरिएको छ ।

दन्दुर, तल्लो दुन्दुर र महखोलाको मुहानको पानीबाट आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका, नेपाल र फिनल्याण्ड सरकारले ४५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि उपभोक्ताहरुले २० लाख रुपैयाँ बराबरको श्रमदान गरेका अध्यक्ष सुनारले बताउनुभयो ।

एक घरले ११० दिनका दरले श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकट, यातायातको असुबिधा र ढुवानीको समस्याको बावजुद पनि निर्धारित समयमै खानेपानी आयोजना निर्माण गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।

परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट, प्राबिधिक इन्द्र चन्द्र, वास सहजकर्ता गंगा बरुवाल लगायतको टोलीले तेस्रो किस्ता अनुदान निकासाका लागि सिफारि गर्न शुक्रबार आयोजनाको स्थलगत अनुगमन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार